धनगढी,१४ भदौ ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्देशनपछि गौरीफन्टा नाकामा बनाईएका खोकाछाप्रा हटाउन थालिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गौरीफन्टा नाकामा बनाईएका खोकाछाप्रा हटाउन निर्देशन दिएको थियो । सीमानाकालाई व्यवस्थित बनाउन खोकाछाप्रा हटाउन निर्देशन दिईएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले जानकारी दिए।
प्रजिअ खतिवडाले सीमानाकालाई व्यवस्थित बनाउँदै भरपर्दो सुरक्षा व्यवस्था मिलाउनका लागि अवैध रुपमा बनाईएका संरचना हटाउन निर्देशन दिएको बताए।
‘हामी नयाँ योजना बनाएर अगाडी बढ्ने सोचमा छौँ। सकेसम्म ती संरचना छिटो हटाउनुस भनेका छौँ।’ उनले भने, ‘सुरक्षा व्यवस्था प्रभावकारी नभएका गुनासा आएका छन्। त्यहाँ विभिन्न खालका गलत क्रियाकलाप पनि हुने गरेको सुन्नमा आएको छ। त्यसैले हामीले नाकालाई व्यवस्थित बनाउन संरचना हटाउन लागेका हौँ।’
यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले गौरीफन्टा नाकाको व्यवस्थापन गर्दै आएकोमा कञ्चनपुर प्रशासनले सुरक्षाकर्मी परिचालन गर्दै आफ्नो मातहत लगेपछि नाकाको व्यवस्थापनमा जुटेको हो।
सीमानाकालाई व्यवस्थित बनाउन खोकाछाप्रा हटाउन निर्देशन दिएपछि स्थानीयले स्वस्फुर्त रुपमा संरचना भत्काउन थालेका हुन्।