काठमाडौं, १०साउन ।जोखिम नियन्त्रणका लागि अपनाउनुपर्ने तयारीबिनै सरकारले लकडाउन हटाएको भन्दै कांग्रेसले विरोध गरेको छ । राजस्व बढाउन तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिन मात्रै सरकारले लकडाउन खोल्ने निर्णय लिएको टिप्पणी कांग्रेसले गरेको छ ।
कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री प्रकाशरण महतले शुक्रबार पत्रकार सम्मेलनमा संक्रमण दर अझै विस्तार हुन सक्ने चिन्ता व्यक्त गरे ।
‘सरकारले लकडाउनलाई महामारी नियन्त्रण र यसपछि जनजीवन नियमित गर्नतर्फ पर्याप्त ध्यान दिएन,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले लकडाउन खोल्दा पनि सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको छ । यसले नागरिक जीवनलाई थप असुरक्षित बनाउने जोखिम बढेको छ ।’
कांग्रेसले सरकारको हरेक निर्णय हठात र तयारीरहित हुने गरेको जनाएको छ । ‘लकडाउनको लामो अवधि तयारी र उपलब्धिबिना सरकारले सकायो, अहिले लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमणप्रति तयारी शून्य देखिन्छ,’ कांग्रेसले भनेको छ, ‘लकडाउन खोल्ने निर्णय गरिराख्दा सार्वजनिक स्थल, होटल, रेस्टुरेन्ट, कार्यालय, कलकारखाना, व्यवसाय, शैक्षिक संस्थाहरू, सार्वजनिक यातायातमा अपनाउनुपर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीबारे सरकार मौन छ ।’
संक्रमणको क्रम नघटेको र समुदायमा फैलिन सक्ने देखिएको अवस्थामा परीक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधाप्रति तयारी अत्यन्त निराशाजनक छ ।
लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थामा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपाय अपनाउने कार्ययोजना र कार्यान्वयनतर्फ गम्भीर नबनेको पनि आरोप लगाएको छ ।
‘पटक–पटकको ध्यानाकर्षणको बाबजुद होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरूलाई मापदण्डअनुरूप सञ्चालन गर्ने र परीक्षणको दायरा फराकिलो पार्नुपर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ लिएन,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ ।