धनगढी ०३ फाल्गुन ।चीनबाट धनगढी फर्केर सेती अस्पातलमा निगरानीमा राखिएका बिरामिको स्वास्थ्य परिक्षण रिर्पोट आएको छ। चीनमा अध्ययनरत कैलालीका एकजना विद्यार्थीलाई कोरोनाको आशंकामा निगरानीमा राखेर स्याम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएकोमा स्वास्थ्य परिक्षणपछि उनमा कोरोना नरहेको पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशीले रिर्पोट नेगेटिभ आएको पुष्टि गरे। जोशीका अनुसार अहिले ति विरामीलाई डिस्चार्ज सुमेत गरिएको छ। ज्वरो र घाटी दुःख्ने समस्या देखिएपछि स्याम्पल प्रयोगशाला पठाईएको थियो।
यसअघि शनिबार मात्र धनगढीका अर्का युवक सोही खालका लक्षण देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको पनि नमूना संकलन गरी जनस्वास्थ्य प्रयोगशाला पठाईएकोमा उनमा ’इन्फुल्न्जा ए, एचवान एनवान’ को सङ्क्रमण देखिएको थियो।
अहिले चीनमा कोरोना भाइरस फैलिएकाले नेपालमा पनि संक्रमण हुन सक्ने भन्दै सतर्कता अपनाईएको छ। सेती अस्पतालमा पनि कोरोना भाईरसलाई लक्षित गर्दै छुट्टै उपचार कक्ष स्थापना गरिएको छ।