काठमाडौं : बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम एसिया कप अन्तर्गतको दोस्रो खेलमा नेपाल अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । हङकङले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले हङकङलाई जितका लागि २१८ रनको लक्ष्य दिएको छ । नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २१७ रन बनाएको हो ।
नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ८९ रनको योगदान गरे । १३९ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे । मोहमद आसिफ शेखले ४२ रन, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७ रन, विनोद भण्डारीले १५ रन बनाए ।
नेपालले खराब सुरुवात गरेको थियो । पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा नेपालको स्कोर ३ रन मात्रै थियो । कुशलले बिहीबार भारतविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका थिए । ज्ञानेन्द्र भने भारतविरुद्ध पनि पहिलो ओभरको दोस्रो बलमा शून्य रनमै आउट भएका थिए ।
त्यसपछि उपकप्तान दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले इनिङ सम्माले । शरद र उपकप्तान दीपेन्द्र ऐरीले तेस्रो विकेटका लागि १२४ बलमा ८३ रनको साझेदारी गरेका थिए । त्यसपछि आएका आसिफले पनि शरदसँग ९६ बलमा ७४ रनको साझेदारी गर्दा नेपालको सम्मानजनक स्कोर बनेको हो ।
जोडे सुस्त ब्याटिङ गरेका शरद ५०औं ओभरको पाँचौं बलमा मोहमद ऐजाज खानको बलमा कयाच आउट भए। पाचौं नम्बरमा क्रिजमा आएका आशिफले ४८ बलमा ३ चौका र ३ छक्का प्रहार गरी आक्रामक ब्याटिङ गरेका थिए। आशा गरिएका पवन सर्राफ तीन बल खेली शून्य रनमै आउट, आक्रमक फिनिसर मानिएकाकरण केसीले ७ मात्रै बनाउन सके ।
हङकङका लागि मोहमद ऐजाज खान नेपालको ३ विकेट दिए । जास्रुल्ला राना र इशान हुसेनले २–२ विकेट लिए ।
पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपाललाई समूह चरण पार गर्न यो खेल जित्नैपर्ने हुन्छ।