‘किस्मत’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका अभिनेता हुन्, आर्यन सिग्देल । उनले अहिलेसम्म ३ दर्जनभन्दा बढी चलचित्र खेलिसकेका छन् । प्रायः लभस्टोरी चलचित्रमा देखिँदै आएका कारण उनले लभर ब्वाइको छवि बनाएका छन् ।
चकलेटी लुक र अभिनयका कारण आर्यनका पुरुष भन्दा पनि महिला प्रशंसकहरु धेरै छन् । पछिल्लो समय उनी आफ्नो लभर ब्वाइ छविलाई तोड्डै अभिनय र लुकमा भर्सटालिटी अपनाउँदै छन् । आर्यनको चाँडै नै चलचित्र ‘चचहुई’ रिलिज हुँदैछ ।
प्रायः चलचित्रको कार्यक्रमहरुमा मात्र देखिने आर्यन बिहीबार एक पुस्तक विमोचन कार्यक्रममा भेटिए । त्यही मौकामा वर्षा महर्जनले आर्यनसँग छोटो कुराकानी गरेकी छन् ।
पुस्तक कत्तिको पढ्नुहुन्छ ?
म खासै किताब पढ्नमा इच्छा राख्ने व्यक्तिमा पर्दिनँ । पहिलेपहिले आक्कलझुक्कल केही नेपाली र हिन्दी साहित्यिक किताबहरु पढ्थेँ । तर बीचमा छुट्यो ।
अहिलेसम्म कतिवटा किताब पढ्नुभयो होला, याद छ ?
मलार्ई ठ्याक्कै याद त छैन । किनभने मेरो स्मरणशतिm एकदमै कमजोर छ (हाहाहा) । अझै भन्ने हो भने मलाई आफैँले पढेको किताबहरुको नाम पनि याद छैन ।
पछिल्लो पटक कुन किताब पढ्नुभयो ?
धेरैपछि मैले पढेको किताब आनन् अच्युतको ‘बासन्ती प्रेम’ हो ।
अहिलेसम्म पढेका किताबमध्ये सबैभन्दा मनपरेको कुनै छ ?
म सेलेक्टेड, सबैले राम्रो छ भनेको किताब मात्रै पढ्छु । त्यसैले अहिलेसम्म पढेका सबै राम्रो नै थिए । नाम नै लिनुपर्दा भर्खरैै पढेको यही ‘बासन्ती प्रेम’ नै हो ।
यो किताब राम्रो लाग्नुको कारण ?
यो किताब अहिलेसम्म पढेको लभस्टोरी पुस्तकभन्दा फरक लाग्यो । किनभने यसमा प्रयोग भएका हरेक बिम्बहरु नयाँ र फरक छन् । पुस्तक पढिरहँदा यसले मलाई मेरो विगतमा पुर्याएको महसुस भयो ।
किताब पढेर समय बिताउन कत्तिको रमाइलो लाग्छ ?
रमाइलो लाग्छ तर टाउको दुख्ने समस्याका कारण धेरैबेर सम्म किताब पढिरहन सक्दिनँ ।
कुन विधाको किताब पढ्न रुचाउनुहुन्छ ?
लभस्टोरी नै धेरै पढ्न रुचाउछु ।
कस्तो किताबले अकर्षित गर्छ ?
लेखन शैली नै हो । किनभने पाठकले किताब पढिरहँदा अक्षर सँगसँगै दृश्य पनि देख्न सक्नुपर्छ । यो गुण लेखकमा भयो भने त्यो किताबमा म मात्रै होइन, हरेक पाठक आकर्षित हुन्छ ।
त्यसैले मलाई आकर्षित गर्ने पाटो भनेकै त्यसको लेखन शैली हो । लेखन शैलीले दृश्य चित्रण गर्न सकेन भने पढिरहँदा रमाउनै सक्दिनँ ।
साहित्यक किताब पढ्नुबाहेक लेख्ने प्रयास पनि गर्नुभएको छ ?
लेख्ने त बानी मेरो छैन । तर पछिल्लो पटक मेरो चलचित्र ‘कायरा’को लागि ‘रंग छ कहाँ...’ भन्ने एउटा गीत लेखेको थिएँ । मभित्र त्यो भावना छ, तर हातमा निखारता छैन । त्यही भएर लेख्दिन ।