धनगढी, ७ कार्तिक/ सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर वोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताए । शुक्रबार मन्त्रालयमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान समारोहमा सञ्चारकर्मी समक्ष मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रतिशत राजश्व सङ्कलन भएको जानकारी दिए ।
करको दर नभइ दायरा बढाएर अघि बढ्ने, सम्भावनाको खोजी गर्ने र सबै स्थानीय तहसँग करका सवालमा सामञ्जस्यता कायम गर्दै आपसमा समन्वय गरेर सरकार अघि बढेको उनले स्पष्ट पारे ।
सरकारको नीति अनुसार आगामी चैत्र सम्म अन्तराष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिएको र यसै महीना एक दिवसीय वित्तीय सम्मेलन गर्न लागिएको पनि मन्त्री वोहराले जानकारी दिए। कार्यक्रममा मन्त्रालयका सचिव सुमन अर्याल लगायत मन्त्रालयका कर्मचारी र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।