एजेन्सी । विश्वकै सबैभन्दा रहस्यमयी देश मानिने उत्तर कोरियाका प्रमुख किम जोङ उन पनि आफ्नो देश भित्रका गतिविधि बाहिरी दुनियाँबाट गोप्य राख्न चाहान्छन् । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका मून जेइनसँगको भेटवार्तापछि भने किमले अन्य मुलुकहरुसँग देशको सम्पर्क बढाउने अपेक्षा गरिएको थियो तर उल्टै उनले सुरक्षा व्यवस्था झन कडा बनाइरहेको बताइएको छ ।
केही समय अगाडि मात्र किमले जासुसीका घटना विरुद्ध राजधानी प्योङयोङका थुप्रै अग्ला भवनहरुको झ्याल पूर्ण रुपमा बाहिरबाट नदेखिनेगरी ब्लक गराएका हुन् । देशका भित्री क्रियाकलाप सम्बन्धी विभिन्न खुलासा र सैन्य क्षेत्र लगायतका जानकारी पनि सार्वजानिक भएपछि उत्तर कोरियाले जासुसीबाट जोगिन यस्तो उपाय अपनाएको बताइएको छ । यसले जासुसीको विषयमा किम कति गम्भीर छन् भन्ने संकेत पनि दिएको विज्ञहरुको भनाइ छ ।
दक्षिण कोरियास्थित एक संचार संस्थाका लागि काम गरिरहेका चाड ओ केरोल उत्तर कोरियाको निर्माणधीन परियोजनाको निरीक्षण गरिरहेका थिए जसबेला उनले त्यहाँ अनौठो दृश्य फेला पारेका हुन् । देशका मुख्य कार्यालयहरु अवस्थित भवनका सबै माथिल्ला तलाहरु आश्चर्यजनक रुपमा कालो बनाइएको उनले देखेका हुन् ।
अत्यन्तै जोखिमपूर्ण अवस्था भएपनि उनीहरु यसको तस्बिर लिन सफल भएका हुन् । यसरी सयौँ सङ्ख्यामा रहेका होटल र अपार्टमेन्टका झ्याल बाहिरबाट केही नदेखिने गरि कालो सिसा लगाइएको र कतिपय भवनका छत त ढलान समेत गरिएको उनले बताए । एक वर्ष अगाडिका तस्बिरसँग तुलना गर्दै उनले खबर स्पष्ट पारेका हुन् । यसरी होटलमा बस्न आउने पर्यटकहरुले बाहिरी गतिविधिबारे केही थाहा नपाउन् भनेर पनि सबै झ्याल ब्लक गरिएको हुन सक्ने बताइएको छ । प्योङयोङका अग्ला अपार्टमेन्टहरुमा उच्च सरकारी अधिकारी र तिनका परिवारहरु बसोबास गर्दछन् । – सिएनएन