फुलबारी खबर संवाददाता भाद्र १७, धनगढी धनगढी उपमहानगरपालिकाको साविकको फूलवारी गाविसका ३ वडाहरु पुर्ण खोप वडा घोषणा भएका छन् । वालवालिकामा देखा पर्ने बिभिन्न ११ प्रकारका रोगहरुबाट बच्न, शिशु मृत्युदर कम गर्न तथा वालवालिकालाई निरोगी बनाउने लक्ष्यका साथ पुर्ण खोप अभियान शुरु गरे अनुरुप स्थानिय स्वामित्व र सहभागितामा शुक्रवार एक भव्य कार्यक्रमका विच वडा नम्वर १४ १८ र १९ पुर्ण खोप वडाहरु घोषणा भएका हुन् । नेपाल सरकारले सन् २०१७ भित्र पुर्ण खोप राष्ट्र बनाउने लक्ष्य लिएको छ । यसै अनुरुप धनगढी उपमहानगरपालिका फूलवारी क्षेत्रका ३ वडाहरु उपमहानगरपालिकाकै प्रथम पुर्ण खोप घोषित वडाहरु भनेर चिनिएका छन् । धनगढी उपमहानगरपालिकाका वडा नम्बर १४,१८ र १९ मा आर्थिक वर्ष २०७२÷७३ मा लक्षित ४ सय ५० वालवालिकाहरु मध्ये ४ सय १८ वालवालिकाहरु रहेको र जिल्ला स्वास्थ्य समन्वय समितीले अनुगमन गरेर सबै वालवालिकाहरु सरल रुपमा खोपको दायरा भित्र परेकोले पुर्ण खोप वडा घोषणा भएको फूलवारी स्वास्थ्य केन्द्रका ईन्चार्ज रेशम लामीछानेले बताए । स्वास्थ्य मानव जिवनको एक अपरिहार्य तत्व तथा स्वास्थ्य नै धन भएकाले हामी सबैले स्वस्थ रहनुका साथै वालवालिकाहरुलाई पनि सानै देखि स्वस्थ रहन सिकाउन र तिनीहरुलाई कुनै पनि रोगले संक्रमित नगराउन खोप आवश्यक रहेको जिल्ला समन्वय समितीका संयोजक तथा कार्यक्रमकका प्रमुख अतिथी सुर्य बहादुर थापाले बताए । हामीले आफ्ना वालवालिकाहरुलाई निरोगी र सानै देखि फुर्तिला बनाउन आ आफ्नो ठाउँबाट सबै वालवालिकाहरुलाई खोपको दायरा भित्र ल्याउन सहयोग गरी दिन समेत संयोजक थापाले आग्रह गरे । फूलवारी स्वास्थ्य केन्द्रको प्राङगणमा एक भब्य समारोह विच भएको पुर्ण खोप कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक सुर्य बहादुर थापा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत, विश्व स्वास्थ्य संगठनका प्रमुख,विभिन्न वडाका वडा अध्यक्षहरु, महिला समुह,आमा समुह,तथा बिभिन्न वडाका वालक्लवहरुको बाक्लो उपस्थिती रहेको थियो भने बिभिन्न संघ संस्थाहरुमा आवद्ध सक्रिय ७ जना व्यक्तित्वहरु सम्मानित भएका थिए । धनगढी उपमहानगरपालिकाका वडाहरु मध्ये शुरुमै फूलवारी क्षेत्रका वडाहरु पुर्ण खोप घोषणा भएकोमा खुसी हुदै फूलवारी स्वास्थ्य केन्द्रका ईन्चार्ज रेशम लामीछानेले यसमा सहयोग गर्ने सम्पुर्ण महिला समुह,आमा समुह,महिला स्वयमं सेविका,बालक्लवहरुलाई धन्यवाद दिए ।