काठमाडौं : पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र शक्तिशाली बन्दै उदाएका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको सदस्यमा उम्मेदवार बन्ने विषयले कास्कीमा व्यापक चर्चा पाएको छ । अहिले कास्की २ मा चिया पसल, बजार र सरकारी कार्यालयमा समेत यस विषयमा चर्चा भइरहेको देखिन्छ । यो चर्चाले कास्कीमा व्यापक हलचल ल्याएको छ ।
गएको संसदीय निर्वाचनमा बर्दियाबाट पराजित बनेपछि नेता गौतम डोल्पा र काठमाडौंबाट उठ्ने चर्चा भएपनि अन्तिममा आएर स्थगन हुन पुग्यो । कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त स्थानमा गौतमको उम्मेलदवारीको चर्चा चलेको छ ।
नेकपाका एक सचिवालय सदस्यका अनुसार अब बस्ने सचिवालय बैठकले गौतमका विषयमा आवश्यक निर्णय लिनेछ । स्रोतका अनुसार अधिकारी पत्नी विद्या भट्टराईलाई आगामी माघमा रिक्त हुने राष्ट्रियसभाको सदस्यमा लैजाने नेताहरुको तयारी छ । गौतमलाई उम्मेवादर बनाइ विजय बनाउनका लागि कमाण्डरका रुपमा नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य खगराज अधिकारीलाई अगाडि बढाउने नेताहरुको सोच छ । अधिकारीले गौतमलाई उम्मेदवारी बनाउने विषयमा स्थानीय नेता तथा कार्यकर्तासँग आन्तरिक छलफल गरेका छन् ।
अधिकारीलाई अब हुने मन्त्रीमण्डल पूर्नगठनमा मन्त्री बनाउने सहमती भएको पनि बताइन्छ । नेताहरुको ग्रिन सिंग्नलपछि गौतमले पोखराका अगुवा नेता कार्यकर्ताहरुलाई छुट्टा–छुट्टै काठमाडौं बोलाएर आफ्नो सम्पर्क कार्यालय बालुवाटारमा गहन छलफल गरिरहेका छन् ।
कतिपयले गौतमलाई कास्कीबाट नउठाइ रिक्त स्थानमा अधिकारी पत्नी भट्टराईलाई उठाउनु पर्ने धारणा पनि व्यक्त गरिरहेका छन् । भट्टराईसँगै पूराना नेता सोमनाथ प्यासि र युवा विद्यार्थी नेता रस्मि आचार्यलगायतका व्यक्तिहरुको पनि उम्मेदवारमा पोखरामा चर्चा छ ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल गौतमको उम्मेदवारीको विषयमा सचिवालयमा गम्भिर छलफल भइरहेको बताउँछन् । खनालले गौतमको संसदीय मोर्चामा अभाव खडकिएकोले गौतमलाई प्रतिनिधिसभाको सदस्य बनाउने गरी कुरा अघि बढिरहेको पनि बताए । उता नेकपा महासचिव विष्णु पौडेलले गौतमको उम्मेदवारीको विषयमा पार्टीले कुनै निर्णय नगरेको बताउँदै भने–आवश्यकता र औचित्यको आधारमा उहाँलाई जिम्मेवारी दिनेगरी पार्टीले निर्णय गर्ने छ । तर, अहिलेसम्म न उहाँले इच्छा जाहेर गर्नु भएको छ न त पार्टीले नै निर्णय गरेको छ ।
गौतम निकट केन्द्रीय सदस्य हरि पराजुली पनि गौतमको उम्मेदवारीलाई नकार्न सक्दैनन् । उनी भन्छन्– उहाँले अहिलेसम्म पार्टीको निर्णय र निर्देशन मान्दै आउनुभएको छ ।
पार्टीले आवश्यकता महसुस गरेर उहाँकलाई कास्कीबाट उठाउने निर्णय गर्यो भने कार्यान्वयन गर्नुहुन्छ । नेताहरुको यो भनाइले कास्की २ बाट गौतमलाई उम्मेदवार बनाउने पक्कापक्की जस्तै देखाउँछ । पार्टीले भित्रभित्रै आवश्यक तयारी गरिरहेको र छिट्टै नै गौतमलाई उम्मेदवार बनाउने निर्णय गर्ने देखिन्छ ।