काठमाडौं – रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता अनुसार पूर्वाधार निर्माण नहुँदै नेपाल आयल निगमले पाइपलाइन उद्घाटन गर्ने भएको छ ।
मंगलवार प्रधानमन्त्री निवास वालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओली र दिल्लीको हैदरावाद हाउसबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दैछन् ।
सन् २०१५ अगस्त २४ गते भारतसँग पेट्रोलियम पाइपलाइन निर्माणका सम्बन्धमा भएको सहमति अनुसार अमलेखगञ्जमा इन्धन भण्डारणका लागि ४१/४१ सय किलोलिटर क्षमताका २ वटा ट्यांकी निर्माण गर्नुपर्ने हो तर ट्यांकी निर्माण नहुँदै पाइपलाइन उद्घाटन हुन थालेको छ ।
पाइपलाइन निर्माणका लागि २ अर्ब ७५ करोड भारतीय रुपैयाँ लागत लाग्ने र सोही लागतभित्रै २ वटा ट्यांकी पनि निर्माण गर्ने सम्झौता तत्कालीन आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका तत्कालीन समकक्षी धर्मेन्द्र प्रधानबीच भएको थियो ।
सम्झौतामा २ अर्ब भारतीय रुपैयाँ इण्डियन ओयल कर्पोरेसन आईओसी र ७५ करोड भारु नेपाल आयल निगमले खर्च गर्ने उल्लेख छ । निगमले गर्ने ७५ करोडभित्र अमलेखगञ्जमा ४१ सय किलोलिटरका २ वटा ट्यांकी बनाउने, फायर फाइटिङ ९आगो नियन्त्रण०का सामान र प्रयोगशालाका सामान ल्याई प्रयोगशाला निर्माण गर्ने र लोडिङ वे ९पेट्रोलियम पदार्थ लोड तथा अनलोडका लागि बाटो० बनाउने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा उल्लेख भएअनुसार निगमले अमलेगञ्जमा फायर फाइटिङका सामग्री ल्याएर फायर फाइटिङको व्यवस्था मिलाएको छ । सम्झौताअनुसार २ वटा ट्यांकी निर्माण भएको छैन, ल्याब निर्माण गरिएको छैन ।
निगमले नयाँ ट्यांकी निर्माण नहुँदासम्म कामचलाउ रुपमा पहिलेदेखि नै अमलेखगञ्जमा सञ्चालनमा रहेका मट्टितेलका ट्यांकीलाई स्तरोन्नति गरेको छ । १ हजार ९ सय किलोलिटर क्षमताका मट्टितेलका ट्यांकी सफा गरेर डिजेल भर्ने व्यवस्था मिलाइएको निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जनाएका छन् ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सम्झौता अनुसार पूर्वाधार पूरै नबनेपनि पाइपलाइन चलाउन मिल्ने पूर्वाधार तयार भएको बताए । सम्झौता अनुसार बन्नुपर्ने ट्यांकी निर्माणका लागि कन्ट्याक्टर छनोट गरिएको छ ।
निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले हाललाई अमलेखगञ्ज, काठमाडौं, पोखरा लगायतका इन्धन भण्डारण गृहको क्षमता अनुसार पाइपलाइनमार्फत तेल आयात गर्ने र निर्माण गर्ने भनिएका ट्यांकी निर्माण गरिने बताए । ‘अहिले हामीले डिजेल मात्रै ट्रान्सफर गर्दैछौं । त्यो ट्याङ्की पेट्रोलको हो, त्यो बन्छ,’ उनले भने ।
पाइपलाइनमार्फत डिजेल मात्रै आयात
मंगलवार उद्घाटन हुने पेट्रोलियम पाइपलाइनमार्फत पहिलो चरणमा डिजेल मात्रै आयात गर्ने निगमले जनाएको छ । अमलेखगञ्ज डिपो प्रमुख यादवका अनुसार पाइपलाइनबाट प्रतिघण्टा २ सय ९४ किलोलिटरका दरले डिजेल आयात हुनेछ । अमलेखगञ्जसम्म दैनिक ४ हजार किलोलिटर ९४० हजार लिटर० डिजेल आयात हुने र हालकै ढुवानी दरमा मासिक ३० करोड ९करीब वार्षिक ३ अर्ब रुपैयाँ ढुवानी वापतको रकम जोगिने निगमले जनाएको छ ।
नेपाल आयल निगमले निगमबाट पेट्रोलियम पाइपलाइन र पूर्वाधार निर्माणका लागि हालसम्म गरिएको खर्चको विवरण संकलन नभएको जनाएको छ । निगमका कार्यकारी निर्देशक पौडेलले निगमले गर्ने भनेको खर्च पूरै हुने र खर्चको विवरण आईओसीबाट आएपछि मात्रै सार्वजनिक गर्न मिल्ने बताए ।