प्रहरीले फेरि थाल्यो अनुसन्धान
बुधबार धनगढीको चट्पुरबाट पक्राउ परेको अपराधिक समूहको संलग्नता नबिल बैंकको रकम लुटपाटमा हुन सक्ने आशंकामा प्रहरीले फेरि अनुसन्धान थालेको छ ।
प्रहरीले धनगढी उप–महानगरपालिका–६, मटियारीका सञ्जय राणा भनिने सञ्जय समशेर राना, सोही ठाउँका कमलबहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीको साथबाट चार पेस्तोलसहित सुनका गहना र सरकारी कार्यालयका नक्कली छाप, ट्राफिक प्रहरीले प्रयोग गर्ने सेतो बेल्ट, सिट्टीकर्ड, आर्मब्याज, चेस्ट नेम प्लेट र प्रहरीले प्रयोग गर्ने निलो चुस्तासमेत बरामद गरेको छ ।
नबिल बैंकको रकम लुटपाटमा प्रयोग गरिएका सामान र बरामद् गरिएका सामानसँग मिलेकाले त्यसबारे अनुसन्धान केन्द्रित पारिएको प्रहरी स्रोतले जनाएको छ ।
२०७० मंसिर २४ गते कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न ल्याउँदै गरिएको दुई करोड ३० लाख ६० हजार रुपैँया र दुई सय अमेरिकी डलर पूर्व÷पश्चिम राजमार्गस्थित कैलालीको मालाखेती जंगलमा दिउँसै लुटिएको थियो । हतियारसहित ट्राफिक प्रहरीको भेषमा रहेका लुटेरा समूहले बैंकका कर्मचारी सवार म १ च १४६ नम्बरको जिपलाई नियन्त्रणमा लिएर रकम लुटेका थिए ।
कैलाली प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष बस्नेतले उक्त समूहबाट प्रहरीले प्रयोग गर्ने पोसाक सहितका विभिन्न सामग्री फेला पारेकाले नबिल बैंकको रकम लुटपाट प्रकरणतर्फ पनि अनुसन्धान केन्द्रित भएको बताए । ‘हतियारसहित पक्राउ परेकाले यो समूह ठूलै अपराधिक गतिविधिमा संलग्न हुनसक्छ’, बस्नेतले भने, ‘प्रहरीले प्रयोग गर्ने पोसाक सहितका सामग्री पनि फेला परेकाले नबिल बैंकको रकम लुटपाट प्रकरणको कनेक्सनबारे खोजी भइरहेको छ ।’
यो समूहको संलग्नता मिटर ब्याजमा मात्र सीमित नभएर थुप्रै अपराधिक गतिविधिमा देखिएको प्रहरीले जनाएको छ ।
नबिल बैंकको रकम बोकेको उक्त जिपमा चालक वीरबहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ, गार्ड गंगादत्त भट्ट र अडिटर शुक्रराज भट्टराई रहेका थिए । बैंकका कर्मचारीकै मिलेमतो हुन सक्ने आशंकामा प्रहरीले केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि गरेको थियो । तर, प्रहरीले अनुसन्धान सफल हुन सकेको थिएन । प्रहरीले थुपै्र पटक अनुसन्धान टोली गठन गरे पनि कुनै अपराध नजिक पुग्न सकेनन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गर्दासमेत केही पत्तो लागेको थिएन ।
पक्राउ परेका व्यक्तिमध्ये राना हतियार, सुन, मिटरब्याज, ढुकुटी लगायतका अवैध धन्दामा संलग्न भएको प्रमाण भेटिएको छ । केही वर्षअघि मृत्यु भएका धनगढी गाउँका खेम रानाको मृत्युमा पनि राणाको नाम जोडिएको छ । उनकै कारण धनगढी चौराहाका व्यापारी मनिष शर्मा धनगढीबाट फरार भएको स्रोतले जनाएको छ ।
हाल प्रहरीले राणा समुहलाई ठगी धन्दामा संग्लन रहेको भन्दै अदालतबाट ७ दिनको म्याद थपगरि अनुसन्धान थालेको छ । राणा समुहले ठगेका व्यक्तिहरुबाट उनि विरुद्ध जाहरी दिन जिल्ला प्रहरी कार्यालय आईरहेको डिएसपी बस्नेतले बताए ।
शनिबार सम्ममात्रै काठ्माडौका एक व्यापारीबाट १० करोड् ठगेको भन्दै जाहेरी दर्ता गराएका छन् । राणा समुहबाट जग्गा खरिद गर्दा नक्कली लालपुर्जा बनाएर आफुहरुलाई ठगेको भन्दै व्यापारीले जाहेरी दिएका हुन् । अन्य थप दुई जनालाई पनी ठुलो परिमाणमा ठगेको र राणा विरुद्ध जाहेरी दर्ता गर्ने तयारी गरिहेको पिडीतको भनाई रहेको छ ।
कसरी पक्राउ परे राणा ?
धनगढीको चटकपुरबाट चार थान पेस्तोल, सुन र विभिन्न कागजात सहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार पक्राउ गरेका तीनै जनालाई बिहीबार प्रहरीले सार्वजनिक गरि सकेको छ ।
उनीहरुको साथबाट प्रहरीले चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात समेत बरामद गरेको छ ।
विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विभिन्न व्यक्तिका नाममा काटेका ५७ वटा चेक, दुई करोड ४५ लाख रुपैँयाका काटेका चेक बरामद गरिएको छ ।
उनीहरुको साथबाट नक्कली चेक पनि बरामद गरिएको छ । एक सय ६ करोड रुपैँयाको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । छाप र नक्कली पत्र तथा कागजहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरिएको छ ।
विभिन्न सरकारी कार्यालयका छापहरु बरामद गरिएको हो । नापी कार्यालय, मालपोत, राजश्व संगै सञ्चार मन्त्रालय, धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरु बरामद गरिएको हो भने राष्ट्र बैंकका गभर्नर सहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरिएको हो ।
यस्तै पक्राउ परेका सञ्जय रानाको नाममा दुई वटा नागरिकता भेटिएको छ । एउटा कैलाली र एउटा डोटीबाट उनले नागरिकता लिएको भेटिएको हो ।
को हुन राणा ?
डोटी केआईसिंह गाउँपालिका राना गाउँका सन्जय राणा भनिने सन्जय रानाको केही बर्ष अगाडी धनगढीको मट्यारीमै सामान्य घर थियो । उनको पारिवारिक अवस्था सामान्य नै थियो । एकाएक उनले मट्यारीमै आलिसान घर बनाए, कारमा हिड्न थाले, घाटीमा सुनको सिक्री लगाउन थाले ।
देखिने गरि कुनै पनि कारोवारमा संग्लन नभएपनि उनको जिवनशैली एकाएक फेरियो, एकाएक धन सम्पत्ती जोडेपछि छिमेकमा चर्चाको विषय बन्ने गरेको थियो । छिमेकीले सोध्दा जग्गाको कारोवार गर्छु भन्दै उनी सहजै जवाफ दिन्थे । तर अहिले उनी पक्राउ परेपछि द्वन्द्वकालदेखि नै हतियारको कारोवारी रहेको श्रोतले जनाएको छ ।
अवैध हातहतियारको कारोबारका लागि उनले भारतमा पनि राम्रो सम्वन्ध बनाएको बुझिएको छ । यो क्षेत्रमा अपराधिक गतिविधिका लागि कसैलाई हतियार आवश्यक भए उनले नै विक्री गर्दै आएका थिए ।
उनले यो बिचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुसंग उठबस र राम्रो सम्बन्ध पनि बनाएका थिए भने द्वन्द्वकालमा पनि तत्कालीन माओवादीका यस क्षेत्रका शिर्ष नेताहरुसंग उनले राम्रो सम्वन्ध बनाएको श्रोतले बतायो ।
श्रोत भन्छ, ‘उनी यो क्षेत्रकै ठूलो जग्गा दलाल समेत हुन, सस्तोमा जग्गा खरिद गरेर, वरपरको जग्गा हड्प्नका लागि उनले धम्की दिने गरेका थिए ।’ नक्कली कागजात बनाएर पनि उनले जग्गाको कारोवार गर्दै आएका थिए ।