१३औँ दक्षिण एसियाली खेलकुदका लागि करातेका ३२ खेलाडी छनोट भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट खेलमा १८ पुरुष र १४ महिला खेलाडीले सागमा स्थान बनाए । प्रशिक्षक दीपक श्रेष्ठका अनुसार पछिल्लो डेढ महिनायता १०८ खेलाडी बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए ।
दक्षिण एसियाली खेलकुदका लागि अन्तिम खेलाडी छनोटसँगै खेलाडीले पाँच दिन आराम पाउने प्रशिक्षक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘लगातार अभ्यास र छनोटले गर्दा खेलाडी केही थकित भएका छन् । त्यसैले पाँच दिनको आरामपछि पुनः प्रशिक्षण सुरु हुन्छ ।’ उनले प्रतिस्पर्धामार्पmत खेलाडी छनोट भएकाले सबै खेलाडी सन्तुष्ट रहेको बताए । श्रेष्ठले भने, ‘विदेशी रेफ्री मगाएर खेलाडी छनोट गरिएको छ । यसमा केही अपेक्षा गरिएका खेलाडी बाहिरिए भने अभ्यासमा राम्रो गरेका खेलाडीले जित निकाल्दै फाइनल छनोटमा स्थान बनाए ।’
लक्ष्य स्वर्ण
सागका लागि छनोट भएपछि अनु अधिकारीले सागमा स्वर्णपदकको लक्ष्य लिएको बताइन् । उनले भनिन्, ‘अहिलेसम्मको तयारी निकै राम्रो छ, यसैका कारण छनोटमा स्थान बनाउन सफल भएका छौँ । तर, अबको अवस्था झनै कठिन छ । त्यसैले सागमा गोल्ड जित्ने लक्ष्यसहित अभ्यास गर्छु ।’ उनले अब जतिसक्दो बढी एक्सपोज आवश्यक रहेको बताइन् । अधिकारीले भनिन्, ‘सागमा गोल्ड जित्ने लक्ष्य पूरा गर्न अब बढीभन्दा बढी एक्सपोज आवश्यक छ । त्यसका लागि राम्रा देशका खेलाडीसँग बढीभन्दा बढी खेल खेल्नुपर्छ ।’