धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा पक्राउ परेका हृदय उपाध्यायलाई प्रहरीले रिहा गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका उपाध्यायलाई आगामी दिनमा गल्ती नदोहोर्याउने कागज गराएर रिहा गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताएका छन् ।
२६ वर्षीय उपाध्यायलाई इलाका प्रहरी कार्यालय लम्कीले अपराध महाशाखा टेकुले साइबर अपराधले पक्राउ गर्न दिएको आदेशका आधारमा आइतबार नियन्त्रणमा लिएको थियो ।
उपाध्यायको फेसबुक वालमा सरकाविरुद्धका थुप्रै टिप्पणीहरु देखिन्छन् । उनले केही दिनअघि ‘केपी ओलीको मिर्गाैलाले राम्ररी काम गर्न छाड्यो, अब के हुन्छ ?’ शीर्षकमा प्रकाशित एक अनलाइनको समाचार सेयर गर्दै प्रधानमन्त्रीका बारेमा भद्दा टिप्पणी गरेका थिए ।