चार वर्षअघि आजकै दिन नौ जनाको ज्यान जाने गरी भएको घट्नाका कारण चर्चामा आएको कैलालीको टीकापुरमा आज थरुहट/थारुवान राष्ट्रिय सम्मेलन शुरु भएको छ ।वर्षाका कारण निर्धारत समयभन्दा करीव दुई घण्टा ढिलो कार्यक्रम शुरु भएको छ ।
सम्मेलनमा सहभागी हुन देशका बिभिन्न जिल्लाबाट सयौको संख्यामा थारु अगुवाहरु टीकापुर पुगेका छन् ।तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन सत्र शुरु भएको छ । सम्मेलनको उद्घाटन सत्रमा संघिय समाजवादी फोरमका नेता डा. बाबुराम भट्टराई, पत्रकार किशोर नेपाल, लेखक युग पाठक, बिजय कर्ण, खगेन्द्र संग्रौलाले सम्बोधन गर्ने छन् ।
सद्भावका लागि सम्मेलन आयोजना गरेको बताईएपनि सम्मेलनको आयोजनालाई लिएर थारु संगठनहरुभने बिभाजित छन् ।
सरकारमा रहेको नेकपा निकट थारु संगठनले सम्मेलनमा सहभागिता जनाएको छैन । काँग्रेस निकट थारु संगठनले मौन समर्थन गरेको छ । थारु कल्याणकारी सभा पनि बिभाजित छ ।
२०७२ साल भदौं ७ गते थरुहट/थारुवान आन्दोलनको क्रममा टीकापुरमा हिंसात्मक झडप हुँदा आठ सुरक्षाकर्मी र एक बालकसहित नौ जनाको ज्यान गएको थियो । घटनामा दोषी ठहर भइ सङ्घीय सांसद्मा निर्वाचित रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय भएको छ ।
यसैगरी, ७ गतेको घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायको घर, व्यापारिक फर्म, सञ्चारगृह लगायत जलाइएको थियो । टीकापुर घटनापछि टीकापुरमा थारु र पहाडी समुदायबीच कुनै न कुनै रुपमा दूरी बढेको छ ।