१४२ औं जयपृथ्वीबहादुर सिंह जन्मजयन्तिको अबसरमा भोली धनगढीमा रक्तदान कार्यक्रम हुने

तेज बोहरा
बढ्दो रगतको मागलाई परिपुर्तीका लागि जयपृथ्वीबहादुर सिहंको १४२ औं जन्मजयन्तीको अवसरमा भोली धनगढीमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । सुर्मादेवि बझाङ्गी समाज धनगढीको आयोजनामा रक्तसञ्चार केन्द्रमा खुल्ला रक्तदान कार्यक्रम हुन लागेको हो ।
जयपृथ्वीबहादुर सिहंको १४२ औं जन्मजयन्तीको अवसरपारि भोली भदौ ७ गते शनिबार रक्तदान कार्यक्रम हुन लागेको आयोजक सुर्मादेवि बझाङ्गी समाज धनगढीका महासचिव दिर्घ जाशीले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रम विहान ८ बजेदेखी सुरु भई अपरान्ह ३ बजेसम्म चल्नेछ ।
प्रदेशको एकमात्र रिफेरल सेती प्रादेशिक अस्पताल धनगढीमा दिनप्रति दिन रगतको माग बढ्दै गएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको महासचिव जोशीले बताए ।
बझाङका राजा विक्रमबहादुर सिंह र माता रुद्रकुमारीदेवीको कोखबाट मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १९३४ साल भदौ ७ गते जन्म भएको थियो ।
“मेरो जात मानव हो, मेरो धर्म मानवतावाद हो, मेरो सिद्धान्त मानवतावाद हो । मेरो न कुनै अन्य जात छ न कुनै धर्म छ । तपाईँहरू पनि मानवतावादी आन्दोलनमा आउनुहोस् र आफ्नो चिन्तनशक्तिको सदुपयोग गर्नुहोस्” यो सन्देश लिएर विश्व भ्रमण गर्ने एसियाकै पहिला व्यक्ति हुन् मानवतावादी राजा जयपृथ्वी बहादुर सिंह ।
मानिसले मानिसलाई राम्रो व्यवहार गर्ने, मानवीय व्यवहार गर्ने तथा मानिसको आदर्श, प्रतिष्ठा र प्रकृतिमा विश्वास गर्ने दर्शनलाई मानवतावादी दर्शन भनिन्छ । मानव जीवनमा आघात र्पुयाउनु, असुविधा र्पुयाउनु वा जीवनलाई दुस्खमय बनाइदिनु नै मानवकष्ट हो । मानवतावाद भनेको यी सबै कष्टको निराकरण गरी सुखसुविधा साथ जीवन संरक्षण गर्ने उपाय हो । आफ्नो धर्म, राष्ट्र, सिद्धान्त, जातभन्दा माथि रहेर गर्ने व्यवहार नै मानवतावाद हो । शान्ति, एकता र सहयोगात्मक भावना मानवतावादी दर्शनका मूल मन्त्र हुन् ।
एउटा सानो बाइसे राज्य बझाङमा जन्मिएका जयपृथ्वी बहादुर सिंह मानवतावादी दर्शनका प्रणेता हुन् । उनले सन् १९२८ मा बैङ्ग्लोरमा मानवतावादी क्लब स्थापना गरेर विश्वभर नै मानवतावादी अभियान सञ्चालन गरेका थिए ।
जयपृथ्वीले संसारका सबै मानिस एउटै परिवारका सदस्यका रूपमा र सबै देशले सहअस्तित्वको माध्यमद्वारा विश्वब्रम्हाण्डको छहारीमुनि रहन सकेमा मात्र स्थायी विश्वशान्ति सम्भव छ भन्ने बुझाउन एवं युद्धरत मुलुकका पीडित पक्षलाई उद्धार र पीडक पक्षलाई मानवता सम्झाउन विश्वशान्ति सञ्जाल खडा गरी विश्वव्यापीरूपमा शान्ति र मानवतावादी सङ्गठन खोलेका थिए ।
जयपृथ्वीले रोक्न खोजेको मुलुक मुलुकबीचको युद्ध एवं मुलुकहरूभित्रका भिडन्तमात्र नभई मानवले मानवलाई गर्ने शोषण र उत्पीडन जस्ता दुष्प्रवृत्ति पनि हुन् ।
नेपाली परिवेशमा जयपृथ्वी महामानव थिए । राष्ट्रवादी जयपृथ्वी ६४ वर्षमा हिंडिरहेका बेला १९९७ साल असोज १ गते भारतको व्याङलोरमा स्वर्गीय भएका थिए ।