धनगढी,२३ साउन । धनगढी उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकमा कपडा लैजानेहरुको घुईचो लाग्न थालेको छ। पुराना तर लगाउन मिल्ने लुगाहरु निःशुल्क पाउन थालेपछि कपडा लैजानेहरुको घुईचो लाग्न थालेको हो। सोमवार मात्रै उद्धघाटन गरिएको कपडा बैंकमा कपडा संकलन भन्दा लैजानेको घुईचो लागेको बैंककी सम्पर्क व्यत्ती ज्ञानु शाहले बताईन्।
‘लगाउने मिल्ने पुराना लुगाहरु निशुल्क रुपमा पाउन थालेपछि कपडा लैजानेको बैंक खुल्ला हुन अगाडी देखि नै लाईन लाग्ने गरेको छ,’ उनले भनिन्, ‘कपडा लैजाने धेरै र दान गर्ने कम हुँदा बैंकमा कपडाको मौज्जात घट्दै गएको छ।’ उनले प्रयोग गर्न मिल्ने कपडा बैंकमा दान गर्न समेत आग्रह गरिन्। कपडा बैंक विहान ८ बजेदेखि १० तथा साँझ ५ देखि ७ बजे सम्म खुल्ला रहने भएकाले सो समयमा कपडा दान गर्न सकिने छ।
समाज सेवाको फरक उदाहरण प्रस्तुत गर्नको लागि धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाख लगानीमा कपडा बैंक स्थापना गरिएको थियो। बैंकबाट आवश्यक परेका लुगाकपडा संगै अन्य दैनिक जिवनमा प्रयोगमा आउने सामाग्रीहरु संकलन र वितरण हुन थालेको हो।