धनगढी, १८ साउन ।नेपाल आदिवासी जनजाती महासंघ धनगढी उपमहानगरपालिका नगर समन्वय परिषद्को अध्यक्षमा महेश गोले चयन भएका छन् ।
शनिबार भएको परिषद्को अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । परिषद्को मुख्यसचिवमा राजु पुनमगर, कोषाध्यक्षमा सुमित्रा रानामगर चयन भएका छन् । यसैगरी, सदस्यमा रेविका भुजेल, हिरालाल पाख्रिन चयन भएका छन् । पहिलो अधिवेशनबाट पाँच सदस्यी नगर परिषद् गठनपछि १९ वटै वडा र सबै आदिवासी जनजाती समुदायबाट सदस्य थप्ने नवनिर्वाचित मुख्यसचिव पुनमगरले बताए ।
दुर्गा कुश्मीको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सुदूरपश्चिम प्रदेश संयोजक दलबहादुर घर्तीमगर प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा रामकुमारी चौधरी, गंगाबहादुर योङ्जन विशिष्ट अतिथि रहेका थिए । यसैगरी, थारु कल्याणकारिणी सभाका पूर्व पार्षद् इन्दिरा चौधरी, नेपाल मगर संघका धनगढी अध्यक्ष मानबहादुर थापामगर, नेवा देबु कैलालीका अध्यक्ष पुस्कल कर्माचार्य, नेपाल तामाङ घेदुङका अध्यक्ष केशव लामा, भुजेल समाज कैलालीका अध्यक्ष रेविका भुजेल, नेपाल मगर बौद्ध सेवा समाज कैलालीका अध्यक्ष दौलत बुढामगर लगायतको उपस्थिति रहेको थियो ।