कैलाली १७ चैत्र/ धनगढी स्थित सेती अञ्चल अस्पतालमा विगत १३ वर्षदेखि वरिष्ठ नर्सिङ अधिकृतको दरबन्दी रिक्त छ । त्यो भन्दा तल्लो स्तरका २ जना नर्सिङ अधिकृत पनि १० वर्षदेखि अनुपस्थित छन् । अहिले प्रसूति वाड नर्सिङ निरीक्षकको भरमा चलिरहेको छ ।
उसो त अस्पतालकै प्रमुख प्रशासक मेडिकल सुपरिटेन्डेन्टकै दरबन्दी रिक्त भएको ३ वर्ष बितिसक्यो । अहिले पनि प्रमुख रोगमा विषय विशेषज्ञ चिकित्सकहरू अस्पताल पुगेका छैनन् । सरकारको दरबन्दीमा २० जना अनुपस्थित रहेका छन् भने विकास समिति मार्फत दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरिएको छ ।
अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा बिरामीलाई सेवा पाउन मुस्किल भएको छ । बिरामीको उपचार गर्ने भनेर पर्चा काटे पनि डाक्टरसँग भेट नै नभएको डडेलधुराको जोगबुडाबाट श्रीमतीलाई उपचार गर्न आएका ७० वर्षीय वृद्ध राजभान ऐरले गुनासो गरे । ‘श्रीमतीको उपचार गर्न भनेर अस्पताल आएँ,’ ऐरले भने, ‘उपचार गर्न भनेर टिकट काटे तर, डाक्टर साब नै भेटिनु भएन ।’
पेटको दुखाइ असह्य भएपछि १० दिन अघि धनगढी आएकी उजेली देवी ऐरले अहिले आफूलाई के भएको हो भन्नेबारे जानकारी नपाएको बताइन् । अस्पतालमा कसैले चासो नदिएको उनको गुनासो छ । दुर्गम क्षेत्रका मात्रै होइन, सुगम क्षेत्रबाट आएकाहरूले पनि अस्पतालबाट सहज सेवा नपाएको गुनासो गरेका छन् ।
अस्पतालमा उपचार गराउन आएका पनि चिकित्सकलाई भेटाउनै मुस्किल परेको धनगढी उपमहानगरपालिका ६ मटियारीकी देउसरा धामीले गुनासो गरिन् । ‘पेट र टाउको दुख्ने समस्याले अस्पताल आए, उनले भनिन् ।’ सरकारी अस्पतालमा सस्तोमा उपचार गर्न पाइन्छ भनेर आउछौँ, अस्पतालमा डाक्टर नै भेटिँदैनन् ।’
अस्पतालमा केही महत्वपूर्ण रोगका चिकित्सक नआउँदा बिरामी थप समस्यामा परेका हुन् । ३ बर्षदेखि अस्पतालको प्रमुख प्रशासककै पद रिक्त छ । मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका डा। हेमराज पाण्डेले अझै १२ जना दरबन्दी अनुसारका चिकित्सक रिक्त रहेको बताए । मानसिक, मिर्गौला, मुटु सम्बन्धी रोगका चिकित्सक कहिल्यै नआएको मेसु पाण्डेले बताए । यस्तै समस्या प्रसूति वाडमा पनि छ ।
१३ बर्षदेखि वरिष्ठ नर्सिङ अधिकृतको दरबन्दी रिक्त छ । त्यो भन्दा तल्लो स्तरका २ जना नर्सिङ अधिकृत पनि १० बर्षदेखि अनुपस्थित छन् । अहिले प्रसूति वाड नर्सिङ निरीक्षकको भरमा चलिएको छ । ५० वाडको दरबन्दी अनुसार रहेका नर्स र अनमीले २३५ वाडका बिरामीलाई हेरिरहेका छन् । बिरामी अनुसार नर्स नहुँदा गुणस्तरीय सेवा दिन नसेकेको नर्सिङ निरीक्षक सुनिता खत्रीले बताइन् ।
प्रदेश सरकारले भने एक महिना भित्र अस्पताल विकास समिति गठन गरेर समस्या समाधान गर्ने दाबी गरेको छ । सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले अस्पतालको सुधारका लागि अस्पतालमा रहेका बेकामे कर्मचारीलाई समेत बिदाइ गरिने चेतावनी दिए ।
‘भर्खरै हामीले अस्पताल विकास समिति कार्यविधि २०७५ पास गरेका छौँ,’ मन्त्री सुबेदीले भने, ‘राजपत्रमा प्रकाशित भएपछि सबै भन्दा पहिले अस्पताल विकास समिति गठन गरेर यो तिन महिना भित्र देखिने गरी सुधार गर्छाँै ।’ अस्पताल विज्ञ बस्ने ठाउँ हो । राजनीतिक कार्यकर्ता भर्ना गर्ने, डाक्टरका श्रीमती भर्ना गर्ने थलो होइन ।’ त्यसैलै विकास समिति गठन हुने वित्तिकै त्यस्तालाई हटाइन्छ ।’
सरकारले पर्याप्त रूपमा दरबन्दी अनुसार चिकित्सक पठाउन सकेको छैन । तत्कालीन अस्पताल विकास समितिले भने दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरेको छ । सरकारको दरबन्दीमा २० जना अनुपस्थित रहेका छन् भने विकास समिति मार्फत ८६ जनाको दरबन्दीमा १२४ कर्मचारी नियुक्त छन् ।
विसका समितिमा भर्ना गरिएका मध्ये अधिकांश अस्पतालकै नाता गोता र आफन्त छन् । बिना प्रक्रिया यी कर्मचारी भर्ना गरिएका हुन् । दरबन्दी अनुसार डाक्टर नहुनु र भएकाहरूले पनि पर्याप्त समय नदिनुले अञ्चल अस्पतालको अवस्था नाजुक बन्दै गएको छ । सरकारी अस्पताल सबैको हो । यसको सुधारका लागी स्वार्थरहित ढङ्गले सबैले समाजका सबै तह र तप्काका नागरिकले जुट्न जरुरी छ ।