भीम चौधरी
कैलाली, फागुन २८
जन्मजात पूर्ण रुपमा अशक्त कैलालीको बर्दगोरिया गाउँपालिका–१, कट्टीपुरका २६ बर्षिय सदू जैसीका परिवारलाई सहयोग गरिएको छ । काठमाण्डौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस युथ सर्कलमा आवद्ध विद्यार्थीहरुले विभिन्न क्याम्पसबाट उठाईएको रकम जैसीका परिवारलाई हस्तान्तरण गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका सांसद नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले नगद ३२ हजार सात सय ७ रुपैयासहित लत्ताकपडा, बेड बिस्तरा, खटिया जैसीका परिवारलाई हस्तान्तरण गर्नुभयो ।
सहयोग हस्तान्तरण गर्दै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले पढाईको शिलशिलामा बाहिर रहेका बिद्यार्थीलाई पढाई खर्च जुटाउँन समस्या परिरहेको बेला शारिरीक रुपमा अशक्त गरिव परिवारलाई काठमाण्डौबाट गरिएको सहयोगको प्रसंशा गर्नुभयो । शंकरदेव क्याम्पस युथ सर्कलका अध्यक्ष भिमेश रिमालको अध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलराम डगौरा थारु, सहारा घर बौनियाका अध्यक्ष बलबहादुर बिष्ट, बौनिया जेसिजका अध्यक्ष धिरज साउँदले विद्यार्थीले गरेको कामको सहना गर्नुभएको थियो ।
काठमाण्डौका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट उठाईएको ६० हजार चार सय सात रुपैयाबाट जैसीको घरमा वाईरिङ, बिजुली जडान, पंखा जडान तथा जैसीका लागि बेड बिस्तरा, लत्ता कपडा, खटिया खरिदबाट बचेको रकम नगद ३२ हजार सात सय ७ रुपैया हस्तान्तरण गरिएको हो ।