धनगढी,२६फगुन । कंचनपुरको पुनर्वास र बेलौरी नगरपालिकामा पर्ने बन्धा ताल संरक्षण अभावले पुरिँदै गरेको छ । आकर्षक पर्यटकिय गन्तब्यको चिनारी बनाउँदै आएको यो ताल नेपाल सरकारले छनौट गरेका सय पर्यटकिय गन्तब्यको सुचिमा समेत परेको छ । हाल यो ताललाई मान्छेको मृत्यु भएपछि अन्त्येष्टी गरिने स्थान र माछा पालनको रूपमा प्रयोग गरिँदा यसको अस्तित्व लोप हुँदै गइरहेको छ।
एकैसाथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने ताल करिब एक सय बिघा क्षेत्रफलमा फैलिएको छ । संरक्षणको अभावमा १०० बिघा क्षेत्रफलमा फैलिएको बन्धाताल पुरिँदै आएको स्थानीयको भनाइ छ । ताल जोगाउनका लागि उत्तरी क्षेत्रमा ग्रिन बेल्ट र माटो रोकथाम गर्न ७०० मिटर माटोको छेकबार निर्माण गरिएको छ । ताल पुरिने क्रम भने रोकिएको छैन् ।
वर्षात्मा बगेर आउने माटो रोक्नका लागि भरपर्दो छेकबार निर्माण गरेमात्रै ताल जोगाउन सकिने स्थानीय बासिन्दा बताउँछन् । ताललाई उत्तरतर्फबाट जङ्गल र अन्यत्रबाट बस्तीले घेरेको छ । गोलो घेरामा बन्द आकृतिमा रहेकाले यसको नाम बन्धाताल रहन गएको यहाँका बुढापाकाले भनाई छ । तालको मनोरम दृश्य, विभिन्न प्रजातिका माछा र जलपक्षीको हेर्न आन्तरिक पर्यटकको यहाँ घुइँचो लाग्छ । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट झण्डै १५ किलोमिटर दूरीमा बन्धाताल पर्छ ।