धनगढी, १३ माघ/ सुदूरपश्चिम प्रदेशभरका जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित भएका छन् । संघिय र प्रदेश सरकारले आफूहरुलाई मातहतको निकाय नमानेको भन्दै आन्दोलित भएका हुन् ।
उनीहरुले आफूहरु पनि जनताबाट निर्वाचित भएर आएको भए पनि मर्यादाक्रममा सरकारले कुनै स्थान नदिएको भन्दै आन्दोलित भएका छन् । उनीहरुले आगामी फागुन मसान्तसम्म आफूहरुको मर्यदाक्रम स्पष्ट नगरिए राजीनामा दिने चेतावनी दिएका छन् ।
समन्वय समितिका सदस्यहरुले मर्यादाक्रम र भूमिका स्पष्ट नभएको उनीहरुको गुनासो छ । आफूहरुको भूमिका स्पष्ट नभएकोले सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिको बैठकसमेत बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
नेपाल सरकारले दुईदुई पटक निवार्चित भएका जनप्रतिनिधि भए पनि आफूलाई हक र अधिकार नदिएर सौतेलो व्यवहार गरेकोले आन्दोलित हुनुपरेको कैलाली जिल्ला समन्वय समिति टेकबहादुर बुढाको भनाई छ ।
जिल्ला समन्वय समितिका सदस्यहरुले आफ्ना हक र अधिकारका बिषयमा पटक–पटक आन्दोलन गरे पनि सरकारले मागको सुनुवाई नगरेको बताएका छन् । वडा अध्यक्षभन्दा पनि हामीलाई तल्लो स्तरको व्यवहार गरी सरकारले तानासाही शैलीको व्यवहार गरेको सदस्यहरुको आरोप छ ।
जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमखको मात्र मर्यादा क्रम तोकेकोप्रति उनीहरुले आपत्तत्ति प्रकट गरेका छन् ।