मानसिक समस्या देखिएपछि निर्मलाका बुवालाई टिचिङ पुर्याइयो

धनगढी,९मंसिर । मानसिक समस्या देखिएपछि निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पन्तको थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।
छोरीका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनलाई शनिबार साँझ बुद्ध एयरलाइन्सको विमानबाट काठमाडौं लैजाने तयारी थियो ।
त्यहीअनुसार श्रीमती दुर्गादेवीसँग २ जना अन्य आफन्तसहित साँझ कैलालीको गेटा विमानस्थल पुगेका थिए । तर एयरलाइन्सका कर्मचारीले यो रूप देखाएका व्यक्तिलाई विमानमा चढाउन नसकिने भनेपछि पन्त परिवार विमानस्थलमै अलपत्र परेका थिए ।
कात्तिक २५ गतेदेखि छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै यज्ञराज अनिश्चितकालीन धर्नामा थिए । धर्ना बसेको तेस्रो दिनदेखि नै उनलाई न्यून रक्तचापसँगै ज्वरो र रुघाखोकीको समस्या देखिएको थियो ।
महाकाली अञ्चल अस्पतालका चिकित्सकहरूले चेकजाँच गरेर औषधि दिएपछि केही निको भएको थियो ।