धनगढी, १० असोज/ प्रदेश नम्बर ७ को राजधानी र नामाकरणमा असहमति जनाउँदै कैलालीको धनगढीस्थित प्रदेश संसद भवन बाहिर सर्वसाधारणले प्रदर्शन गरेका छन्। नागरिक समाजको अगुवाइमा प्रदेश सभा भवन रहेको स्थान बाहिरको सडकमा सर्वसाधारणले टायर बालेर प्रदर्शन गरेका हुन्।
सांसद तारा लामा तामाङ नेतृत्वको संसदीय समितिले प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका राख्न सिफारिस गरेपछि तीब्र असन्तुष्टि सुरु भएको छ। खासगरी धनगढीका स्थानीयले गोदवारीमा प्रदेश सातको राजधानी राख्ने निर्णयमा असन्तुष्टि जनाएका छन्। उनीहरुले संसदीय समितिको सिफारिस मान्न नसकिने भन्दै प्रदर्शन सुरु गरेपछि अवस्था तनावग्रस्त भएको हो।
बाहिर सडकमा प्रदर्शन भइरहँदा भित्र संसदमा भने प्रदेश सातको राजधानी र नामबारेमा छलफल भइरहेको छ। प्रदेश ७ को नाम सुदूरपश्चिम राख्ने सिफारिस गरेर संसदीय समितिले पञ्चायतकालिन संरचनालाई नै निरन्तरता दिन खोजेको भन्दै त्यस प्रदेशका अधिकांश जिल्लाबाट असन्तुष्टिको स्वर चुलिएको छ।
उक्त आन्दोलनमा सहभागी हुन अहिले धनगढीका मेयर नृपबहादुर वड पनि सडकमा ओर्लेका छन्। उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए। प्रदर्शनका क्रममा ‘प्रदेश ७ को राजधानी धनगढी कायम गर,’ ‘गोदावरी मान्दैनौँ,’ ‘जंगल फडानी गरेर राजधानी बनाउन पाइँदैन’ लगायतका नारा प्रदर्शनकारीहरुले लगाइरहेका छन्। आन्दोलनकारीहरुले बिहीबारदेखि धनगढी बन्दको घोषणा पनि गरेका छन्।
सरकारले भने प्रदेश सभा भवनभित्र र बाहिर कडा सुरक्षा व्यवस्था मिलाएको छ। प्रदेश सभा भवनबाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ। यसअघिको प्रदेश सभा बैठकका बेला सर्वसाधारणलाई सभा भवनको प्रांगणसम्म प्रवेश दिइन्थ्यो भने बुधबारको बैठकमा गेटभित्र सर्वासाधरणलाई छिर्न दिइएको छैन।