भाद्र २३, अछाम
ढकारी गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै भन्ने समाचारका बिषयमा रेडियो रामारोशनले आयोजना गरेको पत्रकार सम्मेलनलाई अछाम जिल्लाका पत्रकारहरुले बहिस्कार गरेका छन् । आफूले लेखेको समाचारलाई तथ्यपूर्ण हो भनि सार्वजनिक गर्ने भन्दै आयोजना गरेको पत्रकार सम्मेलन रेडियो रामारोशनका अध्यक्ष एवम प्रेस चौतारी का केन्द्रिय सदस्य एकेन्द्र कुवँरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले राखेको प्रश्नको रेडियो पक्षले जवाफ दिन नसकेपछि पत्रकारले सम्मेलन बहिस्कार गरेका हुन् ।
पत्रकार सम्मेलन कार्यक्रममा रामारोशन दैनिकका नरेश कुमार शाहीले सबै भन्दा पहिले रेडियो रामारोशन अछामी जनताको लगानीबाट बनेको रेडियो भएकोले स्थापनाकाल देखि हाल सम्मको आर्थिक तथा भौतिक सम्पती सार्वजनिक गर्न माग गर्नु भयो । पत्रकार शाहीले आफूले २०६६ सालमा सुचनाको हक प्रयोग गरी रेडियोको सम्पतीको मागका लागी निवेदन पेश गरेपनि हाल सम्म कुनै सुनुवाई नभएको धारणा राख्नु भयो । यस्तै बरिष्ठ पत्रकार शिवराज ढुङ्गानाले जनताको सम्पती माथि जसले गिद्धेनजर लाउछ त्यसलाई संचार माध्यममा ल्याई जनतालाई सुसुचित गराउनु राम्रो हो तर समाचार तथ्यपूर्ण हुन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै पत्रकार महासंघ अछामका सहसचिव मेनका ढुङ्गानाले पत्रकारहरुले समाचार लेख्दा आफ्नो धर्म नभुल्न र आचारसंहिताको पालना गर्न आग्रह गर्नु भयो । कार्यक्रममा लामो समय देखी अछाम जिल्लामा पत्रकारीता गर्दै आउनु भएका पत्रकार ललित केसीले आफु रेडियो स्थापना काल देखीकै संस्थापक सदस्य भएको तर सञ्चालक समितीले कुनै जानकारी नदिई हटाएको भन्दै आपत्ती जनाउनु भयो ।
पत्रकार सम्मेलनमा कार्यक्रममा सहभागी अधिकांश पत्रकारले यो बिषय समाचारको कुरा नमिलेकोले यो समाचार आएको भन्दै आलोचना गरेका थिए । सहभागी पत्रकारहरुको जवाफ दिन नसकेपछि कार्यक्रमको समापन नहुदै पत्रकारहरुले पत्रकार सम्मेलन बहिष्कार गरेर हिडेका थिए ।
यो समाचार हाम्रो निगरानी डटकम बाट लिइएको हो। http://hamronigrani.com/details.php?tag=1018