अखिल क्रान्तिकारीको केन्द्रीय संरचना हेरफेर, उमेर हद लागू नहुने

काठमाडौं २३ साउन, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले केन्द्रीय संरचना हेरफेर गरेको छ । आसन्न राष्ट्रिय सम्मेलनमा निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको बेला केन्द्रीय संरचना हेरफेर गरिएको हो । आइतबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यालय बैठकले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति रहने गरी संरचना फेरबदल गरेको निवर्तमान सचिव जीपी मैनालीले जानकारी दिए । आगामी भदौ ७ गतेदेखि ११ गतेसम्म अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गरिँदैछ । सम्मेलनले एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ५ उपमहासचिव, १६ सचिव र १ कोषाध्यक्षसहित ३३ जनाको पदाधिकारी चयन गर्ने छ । उपाध्यक्षतर्फ ४ खुला, ४ समावेशी र १ मनोनित गरी ९ जना रहनेछन् । उपमहासचिवतर्फ ३ खुला, १ छात्रा, १ मनोनित गरी ५ जना रहनेछन् । यसैगरी, सचिवतर्फ ७ प्रदेशबाट ७ जना, विश्वविद्यालयहरुबाट १ जना, महिला, आदिबासी जनजाति, मधेसी, दलित र मुस्लिम समेट्ने गरी ६ जना र खुला २ जना गरी जम्मा १६ जना रहने निवर्तमान सचिव मैनालीले जानकारी दिए । उमेर हद लागू नहुने सम्मेलनमा स्थानीय तह चुनावमा निर्वाचित प्रतिनिधिहरुले उमेद्वारी नदिने विधि बनाइएको छ । तर, उमेर हद भने लागू गरिएको छैन । स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीकै एजेण्डाअनुसार उमेर हदको व्यवस्था गरिएको भन्दै राष्ट्रिय सम्मेलनमा पनि उमेर हदको व्यवस्था गर्नुपर्ने बहस चलेको थियो । अखिल क्रान्तिकारीका निवर्तमान सचिव मैनालीले भने, ‘कतिपय जिल्ला अध्यक्षहरु नै ३० वर्ष पुगिसकेको अवस्था छ । यस्तो अवस्थामा उमेर हद लागू गर्दा लामो समयदेखि क्रियाशील साथीहरु मर्कामा पर्नुहुन्छ । त्यसैले बैठकमा सर्वसम्मत रुपमा उमेर हद लागू नगर्ने सहमति भएको छ ।’