काठमाडौं महानगरले गाडी किन्न ७ करोड छुट्यायो, जनप्रतिनिधिको तलबभत्तामा ६ करोड

काठमाडौं २२ साउन, । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको तलबभत्ता, पोसाक खर्च लगायतका सुविधाका लागि झण्डै ६ करोड बजेट छुट्याएको छ । महानगरपालिकाले सवारी साधन खरिद शीर्षकमा ७ करोड रुपैयाँ पनि बिनियोजन गरेको छ । आर्थिक वर्ष २०७४/७५ को बजेटमा जनप्रतिनिधिको तलबभत्ता, पोसाक खर्च लगायतका सुविधाका लागि ५ करोड ७५ लाख बजेट छुट्याइएको हो । जसमा तलब र पारिश्रमिकका लागि मात्र २ करोड १५ लाख छुट्याइएको छ । परिवहन सुविधा र विविध खर्च शीर्षकमा ३ करोड, टेलिफोन सुविधा शीर्षकमा १० लाख रकम छुट्याइएको छ । महानगरका जनप्रतिनिधिको उपचार खर्चमा समान २०-२० लाख रुपैयाँ छुट्याइएको छ । महाननगरपालिकाले यो वर्ष कर्मचारी र जनप्रतिनिधिका लागि झण्डै ८० करोड रुपैयाँ तलब, भत्ता र सुविधामा खर्च गर्नेछ । यसैगरी महानगरपालिकाले कर्मचारी र जनप्रतिनिधिका लागि सवारी किन्न ७ करोड रुपैयाँ छुट्याएको छ । महानगरको यन्त्र उपकरण खरिदका लागि २६ करोड रुपैयाँ विनियोजन गरेको छ । यो वर्ष महानगरले ८ अर्ब ९८ करोड रुपैयाँ भौतिक पूर्वाधार सुधार र विकास खर्चका लागि छुट्याएको छ । महानगरपालिकाले कुल १२ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याएको छ ।