काठमाडौं । सरकारले जुम्लामा २० दिनदेखि आमरण अनसनरत प्राडा गोविन्द केसीलाई अपहरण शैलीमा काठमाडौं ल्याउने प्रयास थालेको छ । यसका लागि सरकारले काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर जुम्ला पठाएको छ ।
डा केसी र सरकार पक्षबीच भएका दुई वटा वार्तापछि वार्ता प्रक्रिया नै अन्योलमा रहेका बेलामा सरकारले अपहरण शैलीमा बल प्रयोग गरेर डा केसीलाई काठमाडौं ल्याउन लागेको बुझिएको छ ।
डा गोविन्द केसी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसनरत रहेका छन् । सरकारले डा केसीलाई काठमाडौं ल्याउने तयारी गरेसंगै अस्पतालमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
यता डा गोविन्द केसीले भने कुनै पनि हालतमा काठमाडौं नजाने अडान लिएका छन् । उनले बुधबार पनि काठमाडौं नजाने बताएका थिए । सरकारले माग पूरा गर्ने कुनै प्रतिवद्धता नजनाइ आफू थप उपचारका लागि काठमाडौं नजाने अडानमा उनी बिहिबार बिहान पनि देखिएका छन् ।
सरकारले अपरहण शैली अपनाएपछि गोविन्द केसीका समर्थकहरु पनि अस्पताल परिसरमा उल्लेख्य मात्रामा पुगेका छन् ।
गोविन्द केसीका समर्थक नारायण कर्णेलले ‘सरकारले डा केसीलाई जबरजस्ती अपहरण शैलीमा उठाएर लैजाने तयारी गर्दैछ । त्यसकै लागी अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा ब्यापक रुपमा प्रहरी खटिएका छन्। यो गुण्डागर्दि शैली बन्द गर सर्कार ’ भनेर लेखेका छन् ।
बुधबारमात्रै नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले गोविन्द केसीलाई कर्णालीबाट उठाएर काठमाडौं ल्याई आर्मी अस्पतालमा भर्ना गरी संसदबाट जवरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्ने धृष्टता गर्न खोजेको आरोप लगाएका थिए ।
थापाकै भनाइजस्तै गरी बिहिबार बिहान सरकारले डा केसीलाईे अपहरण शैलीमा काठमाडौं ल्याउन खोजिरहेको बुझिएको छ ।