धनगढी ।नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाको घर मर्मतका लागि सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन नगरेको मन्त्रालयले जानकारी दिएको छ । उनको घरमा सुदूरपचिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा बस्दै आएका छन् ।
प्रदेशको भौतिक पूर्वाधार तथा बिकास मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक २०८०।८१ को बजेटमा मन्त्री प्रकाश बहादुर देउवाको आवास भवन मर्मत तथा रंगरोगन गर्ने कार्यमा चाहिँ सो बजेट विनियोजन गरिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म पनि माननीय मन्त्रीज्यू आफ्नै निजी निवासमा बस्दै आउनु भएको र मन्त्रालयबाट निवासका लागि कुनै पनि किसिमको सेवा सुविधा समेत नलिएको व्यहोरा जानकारी गराउँदछौं ।’
एक सञ्चार माध्यममा धनगढीमा आरजु राणाको घर मर्मत गर्न सुदूरपश्चिम प्रदेश सरकारको १० लाख बजेट विनियोजन गरेको आशयको समाचार प्रकाशित गरिएकाे थियाे । तर, सुदूरपश्चिम सरकारले उक्त समाचारको कुनै सत्यता नरहेको बताएको छ ।
उक्त बजेट मन्त्रालय परिसरभित्रै रहेको सरकारी निवासको नियमित मर्मत सम्भारको लागि छुट्याईएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता मोहनबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा मन्त्री देउवा हालसम्म पनि आफ्नै निवासमा बस्दै आएको उल्लेख गरिएको छ ।