रमेश ऐडी
धनगढी । सुदूरपश्चिम प्रदेशको गौरबको आयोजनाको रुपमा रहेको कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका -१८ एफ गाउँमा निर्माणाधीन कोल्ड स्टोर निर्माण व्यवसायीको लापरबाहीले बिगत ३ महिनादेखि अलपत्र परेको हो ।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षमताको कोल्ड स्टोर निर्माणको काम पटक पटक म्याद थप गर्दै ६ बर्षसम्म धकेलिएको हो । दुई बर्षभित्र सम्पन्न गर्नुपर्ने आयोजना कम्पनीले बिभिन्न समस्या देखाउँदैे ३० प्रतिशत काम बाँकी रहेको अवस्थामा काम रोकेर आयोजना अलपत्र पारेको आयोजना हेर्ने इन्जिनियर सौरभ कलौनीले बताए ।
कैलाली र कंचनपुरका कृषि उत्पादनको भण्डारण गर्ने उद्देश्यले कोल्ड स्टोर निर्माणका लागि संघिय सरकारले आ.ब २०७५/ ०७६ मा बजेट बिनियोजन गरेको थियो । सहरी विकास मन्त्रालय अन्र्तगतको आयोजना कार्यान्वयन इकाई धनगढी कैलालीले २०७५ मंसिर १८ गते रबिना कन्ट्रक्सन काठमाडौंसंग ९ करोड २८ लाख ९७ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
इन्जिनियर कलौनीले २ बर्षभित्र काम सम्पन्न गर्ने गरी कार्य आदेश दिइएकोमा आयोजनाको सामान्य डिजाइन परिवर्तन गरिएकाले ६ महिना म्याद थप भएको बताए । त्यसपछि फेरी कोरोना भाइरसको कारण निर्माण कम्पनीले काम गर्न सक्ने अवस्था नभएकाले २०७८ चैत्रसम्म म्याद थप गरिएको थियो । कोरोना महामारीका कारण सरकारले आयतमा प्रतिबन्ध लगाउंदा काम प्रभावित भएकाले फेरि निर्माण कम्पनीलाई ६ महिना म्याद थप गरि २०७९ असोज भित्र काम सम्पन्न गर्ने लक्ष्य दिएको कलौनीले जानकारी दिए ।
२०७९ असोज भित्र काम सम्पन्न गर्न दिइएकोमा स्वीकृत बजेटमा कोल्ड स्टोरको कार्यक्रम छुट भएकाले फेरि म्याद थप गरिएको थियो । कार्यालयले दिएको समय २०८० असार १० गतेसम्म कम्पनीले ७० प्रतिशत मात्र काम सम्पन्न गरेकाले असार ११ गतेदेखि दैनिक ०.०५ प्रतिशत रकम हर्जना लाग्ने गरि बढिमा ६ महिना सम्म म्याद थप गरिने कलौनीले बताए ।
इन्जिनियर कलौनीले हर्जना लाग्ने गरी थपिने ६ महिनामा काम सम्पन्न नगरेमा निर्माण कम्पनीसंगको ठेक्का रद्ध गरी आवश्यक कारबाहीको लागि सिफारिस गरिने बताए । उनले निर्माण कम्पनीलाई खरिद नियमावली अनुसार धरौटी रकम जफत देखि कालो सुचीमा राख्नेसम्मको कारबाही हुनसक्ने बताए ।
कोल्ड स्टोर निर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेकाले बांकीरहेको काम कम्पनीले गरेमा ३ महिना भित्र सकिने उनले बताए । आयोजनाको बारेमा रबिना कन्ट्रक्सनका व्यवस्थापकसंग फूलवारी खबरले प्रतिक्रिया लिन खोज्दा आफुले बोल्न नमिल्ने भन्दै संचालकको सम्पर्क नम्बर समेत दिन अस्विकार गरे ।
कैलाली क्षेत्र नम्वर ५(क) प्रदेशसभाका सांसद तथा प्रदेशको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका रमेश सिंह धामीले किसानसंग जोडिएको ठूलो आयोजना भएकाले सम्बन्धित कार्यालय र निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरे । उनले आयोजनामा देखापरेका समस्या समाधानका लागि आफु समन्वय गर्न तयार रहेको बताउँदै ७० प्रतिश काम सम्पन्न भैसकेको अवस्थामा ठेक्का सम्झौता रद्ध भएमा सम्बन्धीत कार्यालय र जनताले दुख भोग्नुपर्ने भएकाले समयमै काम सम्पन्न गर्न आग्रह गरे ।