धनगढी । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को वर्ष खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना शुक्रबार धनगढीमा सम्पन्न अवार्डमा दुबै जनाले उक्त अवार्ड हात पारेका हुन ।
दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् । दीपेन्द्रले गतवर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याएका थिए । साथै उनी गतवर्ष टी २० अन्तराष्ट्रियमा एक हजार रन बनाउने र एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्ने खेलाडी समेत बनेका थिए ।
यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा गतवर्ष नेपाललाई पहिलो पटक यु १५ साफ च्याम्पीयनसीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी उमेर समुह वा सिनियर साफ च्याम्पीयनसीप र दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको उपाधि खडेरी तोड्दै ह्याटिक सहित ५ गोल गर्ने खेलाडी समेत हुन् ।
गतवर्ष नेपाली यु १५ टोलीले साफ च्याम्पीयनसीपमा बंगलादेश विरुद्धको जित हात पार्दा उनले निर्णायक गोल गरेकी थिइन । उनले गतवर्ष यु १७ साफ च्याम्पीयनसीपमा ३ गोल समेत गरेकी थिइन । यस्तै उनी एफसी छनोटका सबै खेल खेल्दै गोल गर्ने नेपाली खेलाडी समेत हुन् ।
यस्तै सुदूरपश्चिम वर्षको अवार्ड युवा खेलाडी क्रिकेटका हेमन्त धामीले जिते । धामीले भारोत्तोलनका हेमन्त पाल र क्रिकेटकी अनु कडायतलाई पछि पारे । हेमन्तले गतवर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पुराउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस्तै वर्ष प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमटाले हात पारे। टमटाले गतवर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पुराएका थिए । उनी ८ बर्षपछि नेपाललाई यु १९ विश्वकपमा कमब्याक गराउने प्रशिक्षक हुन् । उनले नेपाली महिला क्रिकेट टोलीलाई कतार विरुद्धको सिरिज जिताएका पनि थिए । उनले कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतमलाई पछि पारे ।
सुदूरपश्चिम आईकन पुरुषतर्फ फेन्सिङका जलेन्द्र शाही घोषित भए । शाहीले ९ औ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमका लागि स्वर्ण पदक दिलाएका थिए । उनले फुटबलका जियारत सेख ९फुटबल० र आनन्द कामी ९कराँते०लाई पछि पारेका हुन् ।
सुदूरपश्चिम आईकन महिला फुटबलकी दिपा रोकाया घोषित भईन । दीपाको कप्तानीमा नेपालले गतवर्र्ष पहिलो पटक यु १५ साफ च्याम्पीयनसीपको उपाधि जितेको थियो । उनले कविता कुँवर ९क्रिकेट० र मनिषा सिंह ९कुस्ती०लाई पछि पार्दै उक्त अवार्ड जितेकी थिएन ।
लाइफ टाइम एचिभमेन्ट विष्टलाई
भबिलबलका प्रशिक्षक सहदेव विष्टलाई लाइफ टाइम एचिभमेन्ट प्रदान गरियो । २०२२ सालमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा जन्मिएका विष्टले कलिलै उमेर देखि भलिबल खेल्न थालेका हुन् ।
स्कुलमा पढ्दा पढ्दै विरेन्द्र सिल्डको पहिलो सहभागीतामै उत्कृष्ट खेलाडी बनेका विष्टले त्यही प्रतियोगिता हुदैं क्षेत्रीय टीममा परेर धनकुटामा राष्ट्रिय प्रतियोगिता खेल्नुभयो । जहाँ साविकको सुदूरपश्चिम विकास क्षेत्र तेस्रो भएको थियो । ०४२ सालमा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएपछि उनको ढोका नेपाली राष्ट्रिय भलिबल टीमका लागि खुल्यो । त्यस क्रममा भएका मैत्रीपूर्ण प्रतियोगितामा २० वर्षे उमेरमै तहल्का मच्चाए ।
काठमाडौं र उत्तर प्रदेशमा भएका मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेकै कारण उनी सन् १९८६ मा दक्षिण कोरियाको सोलमा हुने एसियाली खेलकुदका लागि छनोट भए । नेपाली भलिबल टीमले त्यसयता एशियन गेमको अनुभव लिन पाएको छैन । एसियाली खेलकुदमा सहभागीता जनाउने उनीसुदूरपश्चिमका एक मात्रै खेलाडी हुन् ।
स्पेशल अवार्डस् चन्द र कामीलाई
कुस्तीका राजेन्द्र चन्द कराँतेका आनन्द कामीलाई स्पेशल अवार्ड प्रदान गरियो । कुस्तीका चन्दको प्रशिक्षकत्वमा सुदूरपश्चिमले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र तीन कांस्य पदक जितेको थियो ।
यस्तै कैलालीको गोदावरी नगरपालिका– १२ ओलानीमा कपाल काट्ने सैलुन समेत गरिरहेका करातेका आनन्द कामीले ०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद अन्तरगत कराँते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई स्वर्ण पदक दिलाउन सफल भएका थिए । पर्वतको कुश्मामा भएको राष्ट्रिय कराँते प्रतियोगितामा कामीले ५० किलो ग्राम तौल समूह अन्तरगत कुमुतेमा स्वर्ण पदक जित्न सफल भएका उनलाई स्पेशल अवार्ड प्रदान गरिएको खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले बताए ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।