धनगढी।कैलालीको धनगढीमा अटिजम वालवालिकाहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको छ । राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको अयोजनामा निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । सो स्वास्थ्य जाँच कार्यक्रममा ६३ जना वालवालिकाहरुमा अटिजम चेकजाँच गरिएको अयोजक संस्था राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालका अध्यक्ष रमेश बस्नेतले जानकारी दिए ।
काठमाडौँ लगेर अटिजम सम्बन्धि चेकजाँच गर्दा एक वालकालिकाको चालीस हजार जती खर्च लाग्ने गरेकोमा धनगढीमा भएको निशुल्क चेकजाँचले धेरै अभिवाबकहरुलाई राहत भएको बस्नेतले बताए । डाक्टर अनिल ओझा, प्रदिप मिश्र,राधिका गिरी,सन्दिप साही र मेहश बिष्टको टिमले वालवालिकाहरुमा अटिजमको चेकजाँच गरेका थिए ।सो चेकजाँचमा क्रममा केही वालवालिकाहरुमा अटिजमको लक्षण देखिएपनि संवेदनशिलताका कारण संख्या उल्लेख भने गर्न नसकिने अध्यक्षले बस्नेतले बताए ।
अटिजम भनेको के हो ?
अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्था मात्र हो । यो एक किसिमको जन्मजात विशेष अवस्था हो । अटिजमलाई रोग भन्नु भनेको अटिजमप्रतिको गलत बुझाई हो । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । संक्षेपमा भन्नुपर्दा, अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो भन्ने बुझ्नुपर्छ । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ ।