काठमाण्डौ । पूर्वशिक्षा राज्यमन्त्री एवं व्यवसायी सिनेट श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उच्च अदालत दिपायलले जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीलाई पत्र पठाउँदै श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। श्रेष्ठले चार वर्षअघि धनगढीस्थित तीनतारे होटल ‘डिभोटी’ खरिद गर्दा ३ करोड २६ लाख रुपैयाँको चेक अनादर ९बाउन्स० गरेको भन्दै होटल विक्रेता तथा पर्यटन व्यवसायी कृष्णबहादुर महराले जिल्ला प्रहरी कार्यालय कैलालीमा २०७९ चैत ५ मा निवेदन दिएका थिए।
त्यही दिन उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट कार्यालयको चलानी नम्बर ७७४६ मा श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकाले संहिताको दफा ९ ९३० बमोजिम पक्राउ गर्न अनुमति दिइएको थियो।
कैलाली प्रहरीले पनि सोही दिन जिल्ला प्रहरी परिसर अपराध अनुन्धान शाखा काठमाडौंलाई पत्र पठाएर पक्राउ गरी दाखिला गरिदिन अनुरोध गरेको थियो। श्रेष्ठविरुद्ध बैंकिङ कसुर मुद्दा अनुसन्धान अगाडि बढाइएको छ। यद्यपि, हालसम्म श्रेष्ठलाई प्रहरीले पक्राउ भने गरेको छैन।
पक्राउ पुर्जी जारी गर्दासमेत गृहप्रशासनले बेवास्ता गरेको र पक्राउ गर्न प्रहरी निरीह देखिएको भन्दै होटल विक्रेता महराले आक्रोश पोखेका छन्। श्रेष्ठ पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता सञ्चालन गर्दा शिक्षा राज्यमन्त्री बनेका थिए।नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक सदस्य एवं धनगढीका पर्यटन व्यवसायी महराले श्रेष्ठलाई चार वर्षअघि २० करोड रुपैयाँ नगद र २० प्रतिशत आफ्नो सेयर रहने गरी तीनतारे होटल डिभोटी बिक्री गरेका थिए।
‘मेरो केही ऋण तिर्नुपर्ने भएकाले सिनेट श्रेष्ठलाई विश्वास गरेर चेक लिएर होटल नामसारी ९पास० गरिदिएको थिएँँ,’ महराले भने, ‘चार वर्षसम्म रकम नदिएपछि प्रहरीमा उजुरी हालेको हुँ। पटक–पटक पैसा माग्दा पनि श्रेष्ठले बेवास्ता गर्दै आएका छन्।’विश्वासका आधारमा दुईरतीन महिनाको भाखा राखेर चेक लिए पनि हालसम्म बाँकी रकम नपाएको उनले बताए।
‘ठूलो पैसामा कुनै बदमासी नहोला भनेर काम गरिदिएको हुँ,’ महराले भने, ‘ठूलो व्यावसायिक घराना भएकाले पनि यो किसिमको बदमासी नहोला भन्ने सोचेर दिएको थिएँ तर अहिलेसम्म सम्पर्कमा आएका छैनन्।’यसबीच श्रेष्ठ र महराबीच भेट नै नभएको भने होइन। रकम उठाउन धेरैपटक तमसुक पनि गरिएको छ। तथापि, श्रेष्ठले हालसम्म बक्यौता रकम नदिएको र उल्टै सम्पर्कविहीन भएको महराको भनाइ छ।
२०७९ माघमा समेत दुई पक्षबीच बाँकी पैसा दिने गरी कागज गरिएको थियो। तर, त्यसपछि श्रेष्ठ सम्पर्कमा नआएको महराले बताए। यसबारे व्यवसायी श्रेष्ठले मोबाइलमा कल गर्दा ‘स्विच अफ’ गरेर बसेका छन् ।