कञ्चनपुर। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध कञ्चनपुरका दुई हजार ४९७ बचतकर्ताको उजुरी परेको छ । हालसम्मका उजुरीकर्ताले २० करोड २६ लाख १३ हजार ४४८ रुपियाँ दाबी गरेका छन् । उजुरी सङ्कलनको क्रम जारी रहेकाले पीडित र बचत रकम बढ्न सक्ने प्रहरीले जनाएको छ ।
प्रहरीले जेठ १ गतेबाट सूचना प्रकाशित गरेर शिवशिखर सहकारीविरुद्ध उजुरी सङ्कलन गर्ने बताएपछि बचतकर्ताले उजुरी दर्ता गराएका हुन् । महेन्द्रनगर र बेलौरीस्थित शाखा कार्यालयमा बचत रकम जम्मा गरेका उपभोक्ताले उजुरी धमाधम दिन थालेका छन् । यो क्रम अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाले बताए ।
उनका अनुसार बचतकर्ताको उजुरी लिने क्रम जारी रहेको छ । मुद्दा दर्ता भएपछि पनि उजुरी लिइने जनाइएको छ । उनका अनुसार सहकारीको महेन्द्रनगर शाखाले मात्रै केन्द्रमा २६ करोड रुपियाँभन्दा बढी रकम जम्मा गरेको देखिन्छ । सहकारीले कञ्चनपुरमा मार्टमाबाहेक अन्तै कतै लगानी गरिएको देखिँदैन । सहकारीले ठगेको उजुरीपछि स्थानीय प्रशासनले महेन्द्रनगरस्थित शिवशिखर सहकारीको महेन्द्रनगर शाखा कार्यालय र सहकारीले सञ्चालन गरेको गार्डेन मार्ट १६ चैतमा बन्द गराएको थियो । शिवशिखरले महेन्द्रनगरमा ०७७ माघ २५ गतेदेखि सहकारी र २०७८ साल भदौ १३ गतेबाट मार्ट सञ्चालनमा ल्याएको थियो ।