मन्त्री सिंहको निधप्रति संघ संगठनद्वारा शोक व्यक्त

धनगढी । नेपाली कांग्रेस बझाङका पूर्व जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको देहवसानपश्चात् सुदूरपश्चिमका विभिन्न संघ संगठनद्वारा शोक व्यक्त गरेका छन् । मंगलबार बझाङमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका मन्त्री सिंहलाई तत्कालै उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो । उनको कोहलपुस्थित मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बेलुकी ५ः ३३ बजे निधन भएको हो ।
मन्त्री सिंह एक सरल र सादगी स्वभावका भएको बताउँदै सिंहको निधनले सुदूरपश्चिम कांग्रेसले अपूरणिय क्षति व्यहोरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरद्वारा हस्ताक्षरित शोक वक्तव्यमा उल्लेख गरिएको छ । यस्तै नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा हस्ताक्षरित शोक वक्तत्वमा लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिकाको स्मरण गर्दै उनी एक शाहसिक र निडर व्यक्ति हुनुका साथै बभाङ कांग्रेसका एक पिल्लर भएको उल्लेख गरिएको छ । सिंहको देहवसानले कांग्रेसले एक कुशल नेता गुमाएको आभाष भएको नेपाल तरुण दलका जिल्ला अध्यक्ष दिपेन्द्र बमले बताएका छन् । शोक वक्तव्य जारी गर्दै उनले अब सम्झनामा मात्रै रहने सिंहको पार्टीप्रतिको लगाव शिरोधार्य गर्दै नेता तथा कार्यकर्ताले सिक्नुपर्ने बताएका छन् । यस्तै नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश, नेपाल प्रेस युनियन कैलाली शाखा, नेपाल प्रेस युनियन लम्की शाखाले पनि शोक वक्तव्य जारी गर्दै सुदूरपश्चिम प्रदेशले जिम्मेबार नेता गुमाएको उल्लेख गरेका छन् ।