धनगढी। नृत्य र गायन विधाको सुदूरपश्चिम प्रदेश स्तरिय प्रतियोगिता वाईवाई एसईई आइडल २ को फाईनल धनगढीमा सम्पन्न भएको छ।प्रभात मिडिया एण्ड ईभेन्ट प्रालिले आयोजना गरेको आईडलको आज धनगढीको ओम प्यालेसमा फाइनल सम्पन्न भएको हो ।
सुदूरपश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित आइडलमा नृत्य तर्फ शारदा माध्यामिक बिद्यालय बैयाबेहडीकी छात्रा बन्धना मौनीले उपाधी जितिन् । त्यस्तै गायन तर्फ दुर्गा लक्ष्मी माध्यमिक बिद्यालय अत्तरियाकि चाँदनी कार्की विजेता बन्न सफल भइन् । आइडलमा नृत्यतर्फ दुर्गा लक्ष्मी माध्यमिक बिद्यालय अत्तरियाकी चन्द्रा खड्का र गायन तर्फ शिव मावि, जोखर तालका विनोद सुनार रनरअप भए।
नृत्य तर्फका विजेताले रु ५० हजार सहित कक्षा ११ र १२ मा अध्ययन गर्न छात्रवृत्ती हात पारे भने उप विजेताले २५ हजार सहित कक्षा ११ र १२ मा अध्ययनका लागि छात्रवृत्ती हात पारे । यसै गरि गायन तर्फका विजेताले रु २० हजार सहित कक्षा ११ र १२ मा छात्रवृत्ती हात पारे भने उप विजेताले १० हजार सहित कक्षा ११ र१२ मा अध्ययनका लागि छात्रवृत्ती हात पारे।
प्रकाश छेडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रजिस्ट्रार प्रा.डा. हेमराज पन्त रहेका थिए । आइडलको समापन कार्यक्रममा देउडा गायीका लक्ष्मी आचार्य लगायत विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।