राष्ट्रिय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ८ विभिन्न निर्णय गरेको हो।
बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०र१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ।
बैठकले सिँचाइ नीति, २०८० स्वीकृत गर्ने, संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने, हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने, नेपाल नागरिकता तेस्रो संशोधन नियमावली, २०८० स्वीकृत गर्ने, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने, सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायी रूपमा समाधानका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्