समाचार
डेढ करोड लागतमा नवजीवन सहकारीद्धारा राईस मिल सञ्चालनमा,चामल बिक्रि सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारीले नवजीवन खाद्य उद्योगको स्थापना गरी अज देखि चामल बिक्रि वितरण सुरु गरेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मजगाउँमा नवजीवन सहकारी संस्था लिमिटेडले सुरु गरेको नवजीवन खाद्य उद्योगले आजदेखि चामल बिक्रि वितरण सुरु गरेको हो ।
जस्का लागि उद्योगले १६ हजार २८ क्विन्टल धान खरिद गरि १ हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको छ । जसबाट ६२९ क्विन्टल चामल उत्पादन भएको छ । खाद्य उद्योग स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष देव बहादुर बमले मोटो र मसिनो गरि दुई भागमा चामललाई छुट्याइएको बताए ।
२५ किलोको मोटो चामलको १४ सय र मसिनो चामलको २२ सय दर तोकिएको उनले बताए । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने उनले बताए । उनका अनुसार पहिलो चरणमा नवजीवन सहकारी संस्थाका १० वटै सेवाकेन्द्रहरुबाट बिक्रि वितरण गरिने छ ।
छिटै सहकारी मन्त्रालयसंग समन्वय गरि गाडिको व्यवस्थापन गरिने र चामल होम डेलिभरीको व्यवस्था पनि गरिने बमले बताए । नवजीवनका ३६ हजार शेयर सदस्यसहित आम जनताले शुद्ध र र्अग्यानीक चामल खान पाउन भन्ने उदेश्यले नवजीवनले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको र आगामी दिनमा पिठो र तेल उत्पादनका साथै पानी फ्याक्ट्री सञ्चालनको योजना अघि बढाएको उनले बताए ।यस क्षेत्रलाई नवजीवन औद्योगिक ग्रामका रुपमा विकास गरिने भन्दै बमले शेयर सदस्यहरुलाई कृषिमा आकर्षित गर्नुका साथै प्रत्यक्ष,अप्रत्यक्ष रोजगारी सिर्जना गर्नु नवजीवनको भावी योजना रहेको बताए । रानी जमरा सिँचाई आयोजना सुरु भएमा त्यहाँका किसानलाई बिउ वितरणको योजना पनि अघि बढाइने उनको भनाई छ ।
२०५० सालमा स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा छ । ३६ हजार ८१ जना शेयर सदस्य रहेको यस सहकारीमा ३१ करोड ३४ लाख शेयर पूँजी रहेको छ । ५ अर्ब ७३ लाख ६४ हजार निक्षेप संकलन गरि ४ अर्ब १६ करोड १४ लाख रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सहकारीले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको जनाएको छ । यसअघि धान खरिद केन्द्रका रूपमा रहेको स्थानमा नवजीवन ब्रान्डका रूपमा चामल उत्पादन गर्ने उद्देश्यले मिल सञ्चालनमा ल्याइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्