हामि संग जोडिनुहोस

समाचार

सुगमका उपभोक्तालाई दुर्गमका स्याउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२२
  • सुन्नुहोस् 
45  
Banner

बाजुरा, । बाजुरामा उत्पादन भएका स्याउ देशका विभिन्न सहरमा पुगेका छन् । बाजुरामा उत्पादन भएका स्याउ देशका ठुला सहर काडमाडौँ, धनगढी, नेपालगन्ज, सुर्खेत, लम्की, टीकापुर, बौँनिया, छिन्चुलगायतका सहरमा सस्तो तथा सुलभ मूल्यमा बिक्री भइरहेको कृषि ज्ञानकेन्द्र बाजुराले जनाएको छ । बाजुराको बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र गौमूल गाउँपालिकाका विभिन्न स्थानमा पर्याप्त मात्रामा स्याउ उत्पादन हुन्छन् । यो वर्ष उत्पादन भएका स्याउलाई बजारीकरण गर्नका लागि कृषि ज्ञानकेन्द्र बाजुराले ढुवानी गर्ने भने पनि समयमै सुदूरपश्चिम प्रदेश सरकारको बजेट आएन त्यसैले ठेकेदार, सहकारी र समूहले स्याउ ढुवानी तथा बजारीकरणमा सहयोग गरेको कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले बताए।  

यो वर्ष स्वामीकार्तिक गाउँपालिकाबाट २० ट्रक स्याउ जिल्लाबाहिर निर्यात भएको कृषि विकास शाखा प्रमुख विनोद शाहीले बताए । उनले भने, “जिल्लाबाहिर मात्रै स्वामीकार्तिक गाउँपालिकाबाट २० ट्रक स्याउ निर्यात भएको छ । ठेकेदार, सहकारी र समूहले किसानको बारीमै गएर ‘ए’ ग्रेड स्याउको प्रतिकिलोग्राम ४५ र ‘बी’ र ‘सी’ को क्रमशः ४० र ३५ रुपियाँमा खरिद गरेका हुन् । 

सस्तोमा स्याउ बेच्दा पनि किसानले ८० लाखको स्याउ निर्यात गरेका छन् भने २० लाख बराबरको स्याउ जिल्लाभित्रै बिक्रीवितरण भएको छ । बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा उत्पादन भएको स्याउ पनि काठमाडौँ, धनगढी, नेपालगन्ज, महेन्द्रनगरलगायतका सहरमा उपलब्ध छन् । ‘ए’ ग्रेडको स्याउ प्रतिकेजी १२० र ‘बी’ र ‘सी’ को क्रमशः १०० र ८० रुपियाँमा बारीबाटै खरिद भएर देशका विभिन्न सहरमा बिक्रीवितरण भइरहेको स्याउ व्यवसायी उज्ज्वल रावतले बताउनुभयो । बुढीनन्दा नगरपालिकाको स्याउ उत्पादन हुने क्षेत्र पाण्डुसैनमा ७७६ हेक्टरमा स्याउ खेती गरिएको छ । यो वर्ष उत्पादन भएको ७७६ मेट्रिक टनमध्ये २५० मेट्रिक टन स्याउ बिक्री भइसकेको र बाँकी स्याउ जिल्लाभित्र तथा बाहिर निर्यात हुने क्रम जारी रहेको बुढीनन्दा नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।  

बर्सातमा स्याउ ढुवानीमा समस्या भए पनि बाजुराको स्याउको माग देशभर भइरहेकाले यो वर्ष बजारीकरणमा त्यति समस्या नभएको कृषि विकास शाखा प्रमुख भागेन्द्र मल्लले बताए । उनले तुलनात्मक रूपमा गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको र किसानले सहजै उत्पादित स्याउको मूल्य पाइरहेको मल्लले बताउए । त्यस्तै जगन्नाथ, हिमाली र गौमूल गाउँपालिकामा उत्पादन भएको स्याउ भने जिल्लाभित्रै खपत भएको स्याउ व्यवसायी कृषकले बताएका छन् ।  


तपाइको प्रतिक्रिया दिनुहोस्