राजनीति
परामर्श बैठकमा सहभागी हुन प्रचण्ड भोलि धनगढी आउँदै
धनगढी । पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन्। पार्टीका अन्य नेताहरुसहित पूर्व प्रधानमन्त्री प्रचण्ड भोलि बिहान नियमित उडानबाट धनगढी आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ।
माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक भोलि बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले बताए। । बैठकको सम्पूर्ण तयारी पूरा भएको उनले बताए।
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी हुने माओवादी केन्द्रले जनाएको छ। उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन्।
पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारे नेताहरूको सुझाव सङ्कलन गर्नका लागि बैठक आयोजना गरिएको प्रदेश सचिव बुढाले बता । पार्टी निर्माणका लागि नेताहरूको सुझाव सङ्कलन गर्न माओवादीले सातवटै प्रदेशमा बैठकहरू तय गरेको छ।
‘पार्टीमा देखिएका समस्या, समाधानका उपाय तथा पार्टीलाई कसरी मजबुत बनाएर लैजाने भनेर प्रदेशका नेताहरूको राय, सुझाव सङ्कलन गर्न लागिएको हो’ सचिव बुढाले भने, ‘पार्टी निर्माणबारे नेताहरूको धारणा बुझ्न सबै प्रदेशमा हाम्रो पार्टीले अहिले कार्यक्रमहरू गरिरहेको छ।’ सुदूरपश्चिममा पार्टीभित्र देखिएको विवादबारे पनि बैठकमा छलफल हुने माओवादी नेताहरूले बताएका छन्। माओवादीले यसअघि बाग्मती र गण्डकीमा परामर्श बैठक सम्पन्न गरिसकेको छ।