समाचार
नक्कली शैक्षिक प्रमाणपत्र मुद्धामा मुख्यमन्त्री सोडारीकी पत्नी गीतालाई ६ महिना कैद र १० हजार जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध उजुरी परेको थियो । अख्तियारले २०७९ सालको असोज ७ गते गीता विरुद्ध विषेश अदालतमा मुद्धा दर्ता गरेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले विहीबार सोडारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ ।
विषेश अदालतका प्रवक्ता धन बहादुर कार्कीले गीता सोडारी दोषी ठहर भएको र उनलाई ६ महिना कैद र १० हजार जरिवाना गरिएको बताए । गीताका विरुद्ध विषेश अदालतमा दर्ता भएको मुद्धामा कैद र जरिवाना माग दाबी गरिएको थियो ।
गीता धनगढी–९ स्थित शिव माविमा शिक्षिका थिइन् । उनले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको नक्कली प्रमाणपत्र पेश गरेको भन्दै उजुरी परेको थियो । उनका पति सोडारी नेकपा एसका नेता हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्