समाचार
हिन्दू राष्ट्रको प्रस्ताव फिर्ता लिन देउवाको आग्रहलाई अभियन्ताहरूको अस्वीकार

काठ्माण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दू राष्ट्र पक्षमा उभिएका अभियन्ताहरूलाई प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । नेपाललाई धर्मनिरपेक्षताको सट्टा हिन्दू राष्ट्र पक्षमा उभिएका अभियन्ताहरूलाई प्रस्ताव फिर्ता लिन र पार्टीको जारी महासमिति बैठकमा छलफलका लागि दवाव नदिन उनले आग्रह गरेका थिए ।
तर देउवाको आग्रहलाई अभियन्ताहरूले अस्वीकार गरेका छन्। बुधबार बिहान देउवाको बुढानीलकण्ठस्थित निवासमा पार्टी सांसद् शंकर भण्डारी तथा हिन्दू राष्ट्र अभियानका सहसंयोक लोकेश ढकाललगायत आधा दर्जनभन्दा बढी अभियन्ताहरूले भेटेर सो प्रस्तावलाई बहसका साथ स्वीकार गर्ने वातावरण बताउन आग्रह गरेका थिए ।
सभापति देउवाले मुलुकमा विद्यमान परिस्थितलाई हेर्दै यो प्रस्तावलाई अगाडि बढाउन सहज नएकोले फिर्ता लिन उनीहरूलाई आग्रह गरे पनि अभियन्ता समूहले मुलुकमा व्याप्त जनभावनालाई बेवास्ता गरिएमा त्यसले पार्टीभित्र र बाहिर कांग्रेसको विरोधमा ठूलो जनलहर उत्पन्न हुने चेतावनी दिएको वार्तामा सहभागी एक जनाले जानकारी दिए ।
हालसम्म ४२ जना कांग्रेस केन्द्रीय सदस्य र करिब २२ सय कुल महासमिति सदस्यमध्ये ९ सय ३५ ले उक्त प्रस्तावमा हस्ताक्षर गरिसकेका छन्। अभियानका प्रमुख भण्डारीले पार्टीभित्रको यो ‘सेन्टिमेन्ट’लाई बेवास्ता गरिएमा नेतृत्व र ‘रोस्टम’लाई घेर्नुपर्ने वातावरण आउन नदिन सभापति देउवालाई चेतावनीसमेत दिएका थिए ।
सुशील कोइराला पार्टी सभापति एवम् प्रधानमन्त्री हुँदा पनि महासमितिका आधाजति सदस्यहरूले प्रस्तावमार्फत हिन्दू राष्ट्रको माग राखेका थिए। तर, त्यसलाई विधिवत् रूपमा बहसका लागि स्वीकार गरिएन।
उक्त प्रस्तावको ७ वर्षपछि देउवाले पार्टी सभापतिको रूपमा धर्मनिरपेक्षबारे बहस र छलफलका लागि आफू तयार भएको घोषणा गरेलगत्तै महासमितिमा यो प्रस्ताव ल्याइएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्