हामि संग जोडिनुहोस

राष्ट्रिय

विद्युत् प्राधिकरणले भारतबाट दैनिक साढे ५०० मेगावाट बिजुली ल्याउँदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-८
  • सुन्नुहोस् 
324  
Banner

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक आपूर्ति धान्नका लागि भारतबाट दैनिक साढे ५०० मेगावाट बिजुली आयात भइरहेको जानकारी दिएको छ । सुख्खायामा नेपालको उत्पादन खुम्चने भएकाले बिजुली माग धान्नका लागि भारतबाट ५ सय ४५ मेगावाट बिजुली आयात भइरहेको जनाएको हो ।

यति बेला नेपालमा सरदर बिजुलीको माग १३ सय ४४ मेगावाट छ । तर, यो माग धान्नेगरी आन्तरिक उत्पादन भइरहेको छैन । नेपालमा सबैजसो आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर) छन् । यी आयोजनाबाट वर्षायाममा मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ ।

प्राधिकरणका अनुसार १३ सय ४४ मेगावाट माग पूर्ति गर्नका लागि ५४५ मेगावाट बिजुली आयात भइरहेको हो । तथ्यांकअनुसार यति बेला स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट प्रबद्धन आयोजनाबाट ४४९ मेगावाट बिजुली उत्पादन भइरहेको छ । जबकि, निजी क्षेत्रबाट प्रवर्द्धिधत आयोजनाको कूल जडित क्षमता २२ सय मेगावाटभन्दा धेरै छ । 

विद्युत् प्राधिकरणको लगानीबाट सञ्चालित आयोजनाबाट १९८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यसबाहेक, प्राधिकरणको सहायक कम्पनीहरूबाट ११५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । निजी क्षेत्र, प्राधिकरण र प्राधिकरणको सहायक कम्पनीको कूल उत्पादन जोड्दा ७६२ मेगावाट हुन्छ ।

यसअनुसार बजार मागअनुसारको आपूर्ति मिलाउनका लागि प्राधिकरणलाई थप ५८२ मेगावाट बिजुली चाहिन्छ । यही असन्तुलन मिलाउनका लागि प्राधिकरणले भारतबाट ५४५ मेगावाट बिजुली आयात गरिरहेको हो । तर, १३४४ मेगावाट सरदर माग मात्रै भएको प्राधिकरणले जनाएको छ ।

यति बेला नेपालको उच्च माग बढेर १८४९ मेगावाटसम्म पुगेको छ । यो समयको आपूर्तिका लागि प्राधिकरणले अर्धजलाशययुक्त आयोजनालाई सदुपयोग गरिरहेको छ । प्राधिकरणले उच्च माग आउने समयका लागि भनेर कुलेखानी आयोजना र माथिल्लो तामाकोसीमा पानी जम्मा गर्छ । र, आवश्यकताअनुसार बिजुली उत्पादन गर्दै आइरहेको छ ।

नेपालले वर्षायामको समयमा भारततर्फ अर्बौ रुपैयाँको बिजुली निर्यात गर्दै आइरहेको छ । चालू आर्थिक वर्षको वर्षायाममा नै नेपालबाट साढे १५ अर्ब रुपैयाँभन्दा धेरैको बिुजली भारततर्फ निर्यात भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चालू वर्षदेखि नेपाल बिजुली व्यापारमा नाफामा रहने छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च