राजनीति
कांग्रेस महासमिति बैठकमा उपसभापति खड्काद्वारा नीति प्रस्ताव पेस

कञ्चनपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा नीति प्रस्ताव पेस भएको छ । सोमबार उद्धघाटन भएको महासमिति बैठक आज सुरु भएको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका हुन् ।
उपसभापति खड्काले केन्द्रीय सदस्यहरूका सुझाव समेटेर अन्तिम रूप दिएका नीति प्रस्तावलाई महासमितिमा पेस गरेका हुन्। उक्त प्रस्ताव गत बिहीबार केन्द्रीय समितिमा पनि पेश गरेका थिए ।
कांग्रेसले २०७८ मंसिरमा १४औं महाधिवेशन गर्दा नीति अधिवेशन नगरी नेतृत्व मात्रै चयन गरेको थियो। महाधिवेशनको दुई वर्ष नाघिसकेको बेला नीति अधिवेशनसमेतको काम गर्ने गरी महासमिति बैठक सुरु भएको हो ।
महासमिति बैठकमा मंगलबार कुल पाँच वटा प्रतिवेदन पेस हुनेछन्। खड्काले नीति प्रस्ताव पेश गरेपछि महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन र अर्थमन्त्रीसमेत रहेका पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्नेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्