सुदूरपश्चिमको मुख्यमन्त्रीका रूपमा युवा नेता प्रकाश देउवाको चर्चा

धनगढी, १२ मंसिर । सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा नेपाली काँग्रेसका युवा नेता प्रकाश देउवाको चर्चा सुरु भएको छ ।देउवा कैलाली क्षेत्र नम्बर ५ को प्रदेश खबाट एमालेका उम्मेदवार दुर्गा जोशीलाई पराजित गर्दै विजयी भएका हुन् ।
सुदूर पश्चिम सरकारको पहिलो कार्यकाल माओवादीका तर्फबाट त्रिलोचन भट्टले नेतृत्व गरेका थिए । माओवादी नेतृत्वमा प्रदेश सरकारले कुनै उल्लेख्य काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।
सुदूरपश्चिमको विकास, समृद्धि र रोजगारीका अवसर सृजना गर्न युवा नेतृत्व आवश्यक भएको भन्दै विभिन्न पार्टीका नेता तथा सुदूरपश्चिमका अगुवाहरूले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई दबाब दिन थालेका छन् ।
युवाहरूको भावनाको प्रतिनिधित्व गर्ने र सबै दललाई मिलाएर लैजान सक्ने मुख्यमन्त्रीका रूपमा देउवालाई हेरिएको छ । उद्योगी व्यापारीहरू र यस क्षेत्रका स्थानीय तहका पदाधिकारी तथा पार्टीका युवा नेताहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर सुदूरपश्चिमको प्रदेश सरकारको मुख्यमन्त्री बनाउन आग्रह गरिसकेका छन् ।तर यस विषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफ्नो धारणा भने सार्वजनिक गरिसकेका छैनन् । प्रदेश सरकारलाई सङ्घीय सरकारसँग जोड्न सक्ने कडिका रूपमा देउवालाई हेरिएको छ । प्रधानमन्त्रीका स्वकीय सचिवका रूपमा काम गरिसकेका देउवाले सुदूरपश्चिमको विकास र समृद्धिका लागि आवश्यक पर्ने बजेट र योजना ल्याउन सक्ने सामर्थ्य र पहुँच राख्ने बताइन्छ ।
प्रदेश सभामा प्रत्यक्ष तर्फ ११ सिट जितेर नेपाली काँग्रेस सुदूर पश्चिम ठुलो दल बनेको छ । प्रत्यक्ष तर्फ थप एक सिट जित्ने आङ्कलन गरिएको छ । र समानुपातिक तर्फ उसले ८ वटा सिट ल्याउने अनुमान गरिएको छ ।
सुदूरपश्चिममा सरकार निर्माणका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्छन् । सुदूरपश्चिम प्रदेश सभामा गठबन्धनको बहुमत भएको र नेपाली काँग्रेस सबैभन्दा ठुलो दल भएकोले काँग्रेसको नेतृत्वमा सुदूर पश्चिम प्रदेश सरकार गठन हुनु पर्ने नेपाली काँग्रेसका नेताहरूको जिकिर छ ।